चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति

सफल खबर संवाददाता

शुक्रबार, १५ बैशाख २०८०, १६ : ३२
चितवनका दुई सामुदायिक विद्यालयका १२० विद्यार्थीले पाए छात्रवृत्ति

चितवन । युवा व्यवसायीको सामाजिक संस्था राउण्ड टेबल, नेपालद्धारा चितवनका दुई सामुदायिक विद्यालयलाई ७ लाख बढीको चेक हस्तान्तरण गरिएको छ । राउण्ड टेबल नेपाल – १४ , नारायणगढद्धारा भरतपुरमा आयोजित कार्यक्रममा नारायणी नमुना माविलाई ५ लाख ५३ हजार र बालकुमारी मावि नारायणगढलाई १ लाख ६४ हजार ५४० रुपैंयाको चेक रकम हस्तान्तरण गरिएको हो । यस रकमबाट नारायणीका ७९ जना र बालकुमारीका ४१ जना विद्यार्थीले एकबर्षको लागि छात्रवृत्ति पाउनेछन । उक्त चेक रकम संस्थाले स्कुलका अध्यक्ष एवं प्रधानाध्यापकलाई  हस्तान्तरण गरेको थियो  । संस्थाले विपन्न तथा जेहेन्दार विद्यार्थीलार्ई लक्षित गर्दै दुईवटा सामुदायिक विद्यालयका ती विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।

हस्तान्तरण कार्यक्रममा  बोल्दै संस्थाका नारायणगढ शाखाका अध्यक्ष विवेक चाचानले त्यस्ता विद्यार्थीको पठनपाठनमा सहयोग पुग्ने हेतुले विद्यालय छनौट गरि छात्रवृत्ति प्रदान गरिएको बताए । यसअघिपनि संस्थाले शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेर विद्यालयको पूर्वाधार, शिक्षण सामाग्रीमा सहयोग गर्दै आएको भन्दै संस्थाले अन्य सामाजिक काममा पनि सहयोग गर्दै आएको जानकारी दिए ।

संस्थाका पूर्व अध्यक्ष विकास बर्माले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्र्तगत देशका विभिन्न भागमा शैक्षिक गुणस्तर बृद्धि र विद्यार्थीलाई हौसला प्रदान गर्न छात्रवृत्ति प्रदान गरेको बताए । उनका अनुसार संस्थाको कार्यतालिका अनुसार यसैसाता राउण्ड टेबल नेपालले  देशका दर्जन भन्दा बढी जिल्लाका सामुदायिक विद्यालयका  विद्यार्थीलाई  छात्रवृत्ति प्रदान गरेको छ ।

बालकुमारी माध्यमिक विद्यालयका प्रधानाध्यापक आनन्दराज सापकोटाले  यो सहयोगले आर्थिक अभाव भएका विद्यार्थीको शैक्षिक उनन्नयनमा टेवा पुग्ने बताए । नारायणी माविका अध्यक्ष टेक बहादुर थापाले राउण्ड टेबलले गरेको यो सहयोगले यहांँका विद्यार्थीको पठन पाठनमा ठूलो मदत पुग्ने बताए । यो विद्यालय जिल्लाकै सर्वोत्कृष्ट विद्यालय रहेको भन्दै सामुदायिक विद्यालयलाई भौतिक पूर्वाधार तथा दक्ष शिक्षक उपलब्ध गर्न कठिनाई भएको बताए । विद्यालयमा दृष्टिबिहिन र बौद्धिक अपांगले समेत अध्ययन गर्दै आएको बताउंँदै थापाले यस्ता सहयोगले विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामा मदत  पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि चितवनका सहायक प्रमुख जिल्ला अधिकारी राजु पौडेलले सहयोगको प्रशंसा गर्दै दिईएको छात्रवृत्ति निरन्तर रहने विश्वास व्यक्त गरे । छात्रवृत्तिले विद्यार्थीमा उर्जा र प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने भन्दै उनले विद्यार्थीहरुको शैक्षिक दक्षतामा समेत बृद्धि हुने बताए ।

कार्यक्रमका संयोजक शुशील अग्रवालले संस्थाले यस अघि स्वास्थ्य, तथा अन्य सामाजिक काममा सहयोग गर्दै आएको भन्दै आगामी दिनमा सार्वजनिक शौचालय निर्माणको लागि स्थानीय सरकारसंँग मिलेर काम गर्ने बताए । सो अबसरमा महालक्ष्मी विकास बैंकले छात्रवृत्ति पाएका विद्यार्थीलाई झोला वितरण गरेको थियो । कार्यक्रममा राउण्ड टेबलका पदाधिकारी तथा सदस्य, बैंकका कर्मचारी एवं अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस