डा केसीका समर्थकद्वारा मन्त्रीका गाडीहरुमा तोड्फोड

शनिबार, ०५ साउन २०७५, १४ : ५६
डा केसीका समर्थकद्वारा मन्त्रीका गाडीहरुमा तोड्फोड

काठमाडौं ।  राजधानीको नयाँ वानेश्वरमा  कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा  प्रदेश नम्बर २, ३ र ४ का तीन मन्त्रीको गाडीमाथि तोडफोड भएको छ ।
प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर २ का सामाजिक विकासमन्त्री  नवल किशाेर शाह काे बा १ झ ७२३४ नम्बरको गाडीमा तोडफोड  गरेका हुन् ।

यस्तै ४ नम्बर प्रदेशकी सामाजिक विकासमन्त्री  नरदेवी पुनको ग१झ२७६ नम्बरको गाडीमा पनि क्षति पुगेकाे छ ।  उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।

सातवटै प्रदेशका  सामाजिक विकासमन्त्रीको बैठकमा सहभागि हुन आएका उनीहरु राजधानीको इन्द्रेणी फुडल्याण्डमा सो गाडी रोकेर बसेकोमा माइतीघरतर्फबाट नयाँ वानेश्वरतर्फ अघि बढेका तरुण दलका कार्यकर्ताले ढुंगा प्रहार गरेका थिए । तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर  इन्द्रेणी फुडल्याण्डकै बा११च १२६६ नम्बरको गाडीमा पनि क्षति पुगेको छ ।

तरुण दलका कार्यकर्ता तोडफोडमा उत्रिएपछि प्रहरीले ५ राउण्ड अश्रुग्यास र लाठीचार्ज गरेको थियो । सो क्रममा दुई पक्षीय झडप हुँदा तरुण दलका कार्यकर्ताले प्रहार गरेको ढुंगा लागेर प्रहरी इन्सपेक्टर खेम नेपाल घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी मोहन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस