९ महिनामा १ लाख १६ हजार पर्यटकले गरे भक्तपुर भ्रमण

सफल खबर संवाददाता

शुक्रबार, ०८ बैशाख २०८०, १४ : ५२
९ महिनामा १ लाख १६ हजार पर्यटकले गरे भक्तपुर भ्रमण

भक्तपुर । भक्तपुर घुम्ने विदेशी पर्यटकको संख्या बढ्न थालेको छ । आर्थिक वर्ष (आव) २०७९/८० को साउनदेखि चैतसम्म (९ महिना अवधि) मा जम्मा १ लाख १६ हजार ८ सय १२ जना पर्यटकले भक्तपुर अवलोकन गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । जसमा ६७ हजार ७ सय जना गैरसार्क र ४९ हजार १ सय १२ जना (सार्क राष्ट्र र चीनका पर्यटकहरू) छन् ।गत आवको तुलनामा ९ महिनाको अवधिमा ९३ हजार ६४५ जना (गैर सार्क ५६,२६० जना र सार्क राष्ट्र र चीनका पर्यटकबाट ३७,३८५ जना) पर्यटकको आगमन वृद्धि भएको छ ।

यी पर्यटकबाट ११ करोड १४ लाख ३१ हजार पाँच सय रुपैयाँ बराबरको पर्यटन शुल्क बढी संकलन भएको नगरपालिकाले जनाएको छ ।यस आवमा पर्यटन शुल्कबाट १३ करोड ४४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । जसमा गैरसार्क पर्यटकबाट १० करोड ९८ लाख ९९ हजार र सार्क राष्ट्र र चीनका पर्यटकबाट २ करोड ४५ लाख ५६ हजार पर्यटन शुल्क उठेको छ । भक्तपुर नगरपालिकाले १ जनवरी २०२३ बाट डलरको विदेशी विनिमय दरसँग समायोजन गर्न गैरसार्क पर्यटकहरूसँग १ हजार ५ सयलाई १ हजा ८ सय रुपैयाँ कायम गरी शुल्क संकलन गर्दै आएको छ ।

भक्तपुर नगरपालिकाले पर्यटकहरूबाट उठेको शुल्कबाटै भक्तपुरको सम्पदाहरू संरक्षण, शिक्षा, स्वास्थ्य, सरसफाई, विकास निर्माणजस्ता जनताका आधारभूत आवश्यकता पुरा गर्दै आएको बताएको छ ।भक्तपुर नगरपालिकामा अहिले दैनिक ५–६ सयको हाराहारीमा विदेशी पर्यटक भक्तपुरका ऐतिहासिक सम्पदा क्षेत्र अवलोकन गर्न आएको तथ्यांकले देखाउँछ । भक्तपुर घुम्न आउनेमा प्रायः भारतीय, चीन, अमेरिका, जापान, कोरिया र युरोपेली मुलुकका देशका नागरिक रहेको नगरपालिकाको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस