उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच सीमा सुरक्षा लगायतका विषयमा छलफल

सफल खबर संवाददाता

बुधबार, २९ चैत्र २०७९, १६ : १९
उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतबीच सीमा सुरक्षा लगायतका विषयमा छलफल

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच आज गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आसन्न भारत भ्रमण, नेपाल-भारत ऐतिहासिक सम्बन्ध, निरन्तरको सहकार्य र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको छ।

त्यसक्रममा उपप्रधानमन्त्री श्रेष्ठले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको कार्यक्रम छिटै तय हुने र आफ्नो तथा वर्तमान सरकारको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप घनिष्ठ हुने विश्वास व्यक्त गरे।  साथै सीमा व्यवस्थापन र सीमापार अपराध नियन्त्रण जस्ता संवेदनशील विषयमा समेत खुला छलफल हुनुपर्ने धारणा उपप्रधानमन्त्री श्रेष्ठले राखे । भर्खरै रुपन्देही भ्रमण गर्दा एउटा 'बोर्डर आउटपोस्ट' निरीक्षण गरेको र सो क्रममा आफूले दुई देशका सुरक्षा निकायबीच राम्रो समन्वय र सहकार्य रहेको देखेको उनले बताए।     

प्रधानमन्त्री प्रचण्डको प्रस्तावित भारत भ्रमणको कार्यक्रम मिलाउन आफू क्रियाशील रहेको राजदूत श्रीवास्तवले बताए । साथै गृहमन्त्री जस्तो चुनौतीपूर्ण जिम्मेवारी सफलताका लागि बधाई दिँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्री हुँदाको सहकार्यका लागि उपप्रधानमन्त्री श्रेष्ठलाई धन्यवाद व्यक्त गरे।  भेटवार्तामा राजदूत श्रीवास्तवले सीमामा नियमित वारपार गर्ने नागरिकले अपराधी जस्तै व्यवहारको सामना गर्नु नपरोस् भनेर दुवै पक्ष संवेदनशील हुनुपर्ने बताएका थिए। 

प्रतिक्रिया दिनुहोस