भुक्तानी नपाएको भन्दै रोल्पाका कृषक आन्दोलित

सफल खबर संवाददाता

मंगलबार, २८ चैत्र २०७९, १२ : ०७
भुक्तानी नपाएको भन्दै रोल्पाका कृषक आन्दोलित

रोल्पा। रोल्पाका कृषक आन्दोलित भएका छन् । कृषि ज्ञान केन्द्र रोल्पाले अघिल्लो आर्थिक वर्षको रकम भुक्तानी नदिएको भन्दै कृषक आन्दोलित भएका हुन् । आर्थिक वर्ष २०७८-७९ मा सम्झौता भई काम सम्पन्न भए पनि रकम अझैसम्म भुक्तानी नपाएको किसानको गुनासो छ । कृषि ज्ञान केन्द्रबाट अघिल्लो आवमा रु तीन करोड २५ लाख ५९ हजार कृषकलाई भुक्तानी दिन बाँकी थियो । लुम्बिनी प्रदेश सरकारले भुक्तानी दिए पनि संघीय सरकारले एक करोड ५७ लाख नौ हजार दिन बाँकी रहेको कृषक बताउँछन् । ‘चालु आव सकिन लाग्दासमेत अघिल्लो वर्षको रकम भुक्तानी पाएका छैनौँ’, आन्दोलनरत कृषक त्रिपनी वैजाली मगरले बताए।

कृषकले प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत १२ ब्लकको र छ प्राङ्गारिक प्रवर्द्धन कार्यक्रमको रकम पाउन बाँकी छ । कृषकको रकम भुक्तानीका लागि आफूहरू सबै निकायमा पुगेको तर भुक्तानी प्रक्रियामा उदासिनता देखाउँदा आन्दोलन गर्न बाध्य भएको उनको भनाइ छ । ‘संघीय सरकारको कृषि मन्त्रालय, अर्थ मन्त्रालय, प्रधानमन्त्री आधुनिक कृषि परियोजनालगायत विभिन्न निकायमा ध्यानाकर्षण तथा ज्ञापनपत्र बुझाए पनि सुनुवाइ भएन’, उनले भने। आफूहरूको मागप्रति राजनीतिक दल पनि उदासिन रहेको कृषकको गुनासो छ । कृषि ज्ञान केन्द्रमा लामो समयदेखि कार्यालय प्रमुख छैनन् । तत्कालीन कार्यालय प्रमुख राहुल पाण्डे सरुवा भएपछि आएका अरविन्दमणि त्रिपाठीसमेत कार्यालयमा अनुपस्थित भएपछि कार्यालय प्रमुखविहीन बनेको हो। 

प्रतिक्रिया दिनुहोस