रास्वपा सांसदले दुई करोड मागेको अडियोबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, २७ चैत्र २०७९, ११ : १३
रास्वपा सांसदले दुई करोड मागेको अडियोबारे छानबिन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

चितवन । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो प्रकरणको अनुसन्धान हुने बताएका छन् ।

अनुसन्धानबाट जे पुष्टि हुन्छ, त्यही अनुसार अघि बढ्ने उनको भनाइ छ । आज चितवनमा पत्रकारहरुको प्रश्नमा श्रेष्ठले भने, ‘दुई करोडको कुरा आएको छ । त्यसलाई आधिकारिक रुपमा अनुसन्धानको प्रक्रियाबाट हामी कोही निष्कर्षमा पुगिसकेका छैनौं । अनुसन्धानको प्रक्रिया अघि बढेपछि अनुसन्धानबाट जे पुष्टि हुन्छ त्यही अनुसार हामी अघि बढ्ने कुरा हुन्छ ।’

उपप्रधानमन्त्री श्रेष्ठले अडियो प्रकरणबारे सम्बन्धित पार्टी र तिनका नेताहरुले नै प्रष्ट पार्नुपर्ने पनि बताए । रास्वपाका सांसद डा. श्रेष्ठले मेडिकल व्यवसायी प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । सो अडियोमा श्रेष्ठले रविको नाम लिँदै आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीको कोर टिमलाई दुई करोड रुपैयाँ बुझाउनुपर्ने बताएका छन् । अडियो सार्वजनिक भएलगत्तै रास्वपाले श्रेष्ठलाई पार्टीबाट निलम्बन गर्दै छानबिन सुरु गरेको जनाएको छ ।

श्रेष्ठको सचिवालयले त्यस्तो अभिव्यक्ति नदिएको र अडियो सम्पादन गरेर मानमर्दन गर्न खोजिएको जिकिर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार नै उक्त अडियोबारे छानबिन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस