कृषकलाई माछाका भुरा वितरण

सफल खबर संवाददाता

सोमबार, २७ चैत्र २०७९, ०८ : ३५
कृषकलाई माछाका भुरा वितरण

म्याग्दी । म्याग्दीका कृषकलाई ३३ हजार माछाका भुरा वितरण गरिएको छ ।

भेटेरिनरी अस्पताल, पशु सेवा विज्ञ केन्द्र, बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाले कृषकको मागअनुसार भुरा वितरण गरेका हुन् ।

विज्ञ केन्द्र र बेनी नगरपालिका १३÷१३ हजार तथा धौलागिरि गाउँपालिकाले सात हजार भुरा कृषकलाई वितरण गरेका छन् ।

जिल्लाका ४५ कृषकलाई केन्द्रका प्रमुख एवं पशु चिकित्सक जीवनप्रसाद आचार्य र बेनी नगरका पशु शाखा प्रमुख प्रदीप गौतमले भुरा वितरण गरे । 

मागअनुसार बेनीका ३५, अन्नपूर्णका सात र रघुगङ्गाका तीन कृषकलाई पोखरीको क्षेत्रफलको आधारमा भुरा वितरण गरिएको बेनी नगरपालिकाका पशु शाखा प्रमुख गौतमले जानकारी दिए । भुरा नवलपरासीबाट खरिद गरिएको हो । 

व्यावसायिक उत्पादनमा जोड दिन कृषकलाई अनुदानमा भुरा, औषधि, तालिम र प्राविधिक सहयोग उपलब्ध गराइँदै आएको छ । जिल्लामै भुरा उत्पादन भने हालसम्म गर्न सकिएको छैन ।

जिल्लामा व्यावसायिकरुपमा माछापालन गर्ने कृषक ५० भन्दा बढी रहेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस