पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

सफल खबर संवाददाता

आइतबार, २६ चैत्र २०७९, ११ : २९
पूर्वपश्चिम रेलमार्गको एलाइन्मेन्ट परिवर्तन हुने

बारा । पूर्वपश्चिम रेलमार्गको निजगढ नगरपालिका क्षेत्रभित्र हुने एलाइन्मेन्ट परिवर्तन हुने भएको छ । रेल विभागका पदाधिकारीहरुले निजगढमा आयोजना गरेको छलफल कार्यक्रममा यसअघि स्थानीय सरोकारवालाहरुसँग भएको सहमतिभन्दा फरक रेखाङ्कन गर्न लागिएको जानकारी गराएका हुन् । रेल विभागले गरेको पछिल्लो सर्भे अनुसार रौतहटको चोचा हुँदै निजगढ आउने भनिएको रेल्बे लाइन अब नयाँ एलाइन्मेन्टअनुसार निजगढ र सिगौंलको बीचमा पर्ने सुकेपोखरीबाट निजगढ वडा नम्बर ५ को पूर्वटोल हुदै पश्चिमतर्फ जाने भएको छ ।

कार्यक्रममा रेलवे विभागका इन्जिनियर सुमन पोखरेले भारत सरकारको सहयोगमा निर्माण हुन लागेको रक्सौल– काठमाण्डौं रेलको एलाइन्मेन्टसँग तालमेल गर्ने क्रममा पूर्वपश्चि रेलमार्गको एलाइन्मेन्ट परिवर्तन गर्नुपरेको बताए । बाराको कोल्हबी हुदै निजगढ प्रवेश गर्ने रक्सौल– काठमाण्डौं रेल धन्सार नदी पार गरेर उत्तर लाग्ने र पूर्वपश्चिम रेल भने निजगढस्थित भमरा खोला पारीको जंगल हुदै पूर्वटोल निस्किएर पुरानोटोलबाट लाल हुदै डम्बरपुर भएर उत्तरतर्फ लाग्ने छ ।

दुबै रेलमार्गको स्टेशन भने सुकेपोखरी नजिक राखिने भएको छ । यसअघि पूर्वपश्चिम रेलमार्गको निजगढस्थित नदीकट्टा हुँदै बकैया खोलाको पूर्व किनारा भएर पुरानो निजगढबाट पश्चिमतर्फ लाग्ने गरी नक्साङ्कन गरिएको थियो । निजगढको क्षेत्रको नक्साङ्कनको क्रममा यसअघि उत्पन्न विवादपछि पटकपटक भएको छलफलको क्रममा बकैया खोलाको किनाराबाट रेल्बे लिक निर्माण गर्न स्थानीय सरोकारवालाहरुले सहमति जनाएका थिए । छलफलमा निजगढ नगरपालिका क्षेत्र भित्रको मानव बस्ती, खेतीयोग्य जमिन, वन जंगलमा न्यून क्षति पुग्ने गरी सर्भे कार्यअघि बढाउन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत भएको छ ।

कार्यक्रममा मधेस प्रदेशसभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, प्रमुख प्रशासकीय अधिकृत राजमणि निरौलालगायत विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, संचारकर्मी र स्थानीय सर्वसाधारणको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस