काठमाडौँ । ललितपुरको बखुण्डोलमा समिट अपार्टमेन्ट बनाउने क्रममा वरपरका घर भासिएपछि स्थानीय मारमा परेका छन् । गएराति सो अपार्टमेन्ट वरपरका घर भासिएपछि स्थानीय ज्यानै जाने डरले भागाभाग समेत गरेका हुन । नक्सा पास नै नगरी र आफूहरुसँग अनुमति समेत नलिई अपार्टमेन्ट बनाउन सुरु गरेपछि घर समेत भासिन पुगेको स्थानीयको भनाइ छ । उनीहरुले आफूहरुको बास बस्ने ठाउँ नभएको भन्दै आवश्यक व्यवस्था तत्काल गर्न पनि माग गरेका छन ।
सो निर्माणाधिन अपार्टमेन्ट वरपरका एक तला जति घरहरु भासिएका छन् । डेरा गरेर बस्नेहरु सबै भागेको र आफूहरु पनि घरमा बस्ने अवस्था नरहेको स्थानीयले बताएका छन् । अपार्टमेन्ट बनाउनका लागि सम्बन्धित वडा र अन्य कुनै पनि निकायबाट अनुमति नलिएको पनि स्थानीयको दावी छ । गैरकानुनी ढंगले अपार्टमेन्ट बनाउने र आफूहरुलाई घरबास विहिन बनाउने पक्षलाई तत्काल कारबाही गर्न माग गरेका छन ।
यसैबीच, ललितपुर क्षेत्र नम्बर ३ की सांसद डा. तोसिमा कार्कीले सो अपार्टमेन्ट बनाउने कम्पनी र लगानीकर्ताहरुले स्थानीयलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गरेकी छन् । शनिबार बिहान भासिएका घरहरुको निरीक्षण गरेपछि उनले स्थानीयलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न र दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरिन् ।
सांसद कार्कीले सो विषयमा आफूले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसँग पनि कुरा गरेको र स्थानीयलाई न्याय दिन आफू लागिपर्ने प्रतिवद्धता समेत व्यक्त गरिन् । उनले स्थानीयलाई भासिएको घरमा नबस्न र सुरक्षित ठाउँमा सर्न पनि आग्रह गरिन् । त्यसका लागि आफूले पनि सकेको सहयोग गर्ने उनको भनाई थियो ।
अपार्टमेन्ट निर्माणको क्रममा वरपरका घरहरु भासिएपछि भागदौड गर्ने क्रममा कतिपय घाइते समेत भएका छन । उनीहरुको उपचारको व्यवस्था र उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि आफूले पहल गर्ने सांसद कार्कीले बताइन् ।
सडक समेत चर्किएपछि त्यस क्षेत्रका बासिन्दा तनावग्रस्त छन । उनीहरुले आफूहरुको बिचल्ली हुँदा पनि निर्माण कम्पनीले कुनै सुनुवाई नगरेको भन्दै आक्रोश व्यक्त गरिरहेका छन् । स्थानीयले दवाव दिएपछि सो अपार्टमेन्टको निर्माण कार्य भने रोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २५ चैत्र २०७९, १४ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ललितपुरमा आगलागी, तीन बालबालिकासहित पाँच जना घाइते
ललितपुरमा स्वास्थ्य बीमा सुरु
ललितपुरको ग्वार्को–लामाटार सडकमा स्मार्ट बत्ती जडान
ललितपुरका किसानलाई धान भित्र्याउने चटारो
नेपालमा भोलिदेखि चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन
प्रथम ललितपुर जुत्ता चप्पल व्यापार मेला हुँदै