भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं : मुख्यमन्त्री लिला गिरी

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, १३ : ३४
भीर काटेर ढुंगा गिट्टी र काठ बेचौं : मुख्यमन्त्री  लिला गिरी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् ।पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए ।पश्चिमाञ्चल यातायात व्यवसायी संघको साधारण सभा उदघाटन गर्दै उनले आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी निर्यात गर्नसके व्यापार घाटा कम हुने र यातायात व्यवसायीले पनि काम पनि पाउने औंल्याए ।

‘मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी नबेचे के बेचेर आम्दानी गर्ने त ?’, मुख्यमन्त्री गिरीले प्रश्न गरे ।एमालेका नेता बिष्णु पौडेल अर्थमन्त्री हुँदा सिद्धबाबाको ढुंगे पहाड काटेर ढुंगा गिट्टी बेच्ने र सिद्धबाबालाई सुन्दर पर्यटकीय थलो बनाउने प्रस्ताव गर्दा आलोचना भएको थियो । त्यो प्रशंग निकालेर उनले भने वातावरणको नाममा अनावश्यक हौवा पिटेर योजना तुहाइयो आरोप लगाए ।नेपालका नदीजन्य र वनजन्य पदार्थको वैज्ञानिक ब्यबस्थापन हुन नसक्दा बर्सेनि अरबौ रुपैयाँँको सामान विदेशबाट आयात गर्नुपर्दा नेपाली व्यवसायी धराशायी हुने अवस्था आएको र ब्यापार घाटा चुलिएको मुख्यमन्त्री गिरीले औंल्याए ।त्यस अवसरमा ढुवानी व्यवसायीहरुले भारतीय ट्रकहरुको ओभरलोड नियन्त्रण गर्न नसक्दा नेपाली व्यवसायी मारमा परेका र नेपालका सडक तथा पुलहरु भत्किने र क्षति हुने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस