भोलिसम्म सरकारले पूर्णता पाउँछ : नैनसिंह महर

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, ११ : ५१
भोलिसम्म सरकारले पूर्णता पाउँछ :  नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले सरकारको न्यूनतम साझा कार्यक्रम योभन्दा फरक रुपमा आउने अवस्था नभएको टिप्पणी गरेका छन् । ‘सरकारको न्यूनतम साझा कार्यक्रम कुनै एक दलको घोषणापत्रभन्दा गठबन्धन दलहरुका सामूहिक प्रतिबद्धता हुन् । यति महिनामा यी यी काम गर्न सक्छौं भनेर आउन सकेन । तर यो भन्दा फरक आउने अवस्था थिएन । अब त्यसको कार्यान्वयनमै तल्लीन हुनु जरुरी छ।

उनले आज बेलुकी वा भोलिसम्म मन्त्रीमण्डलले पूर्णता पाउने पनि बताए । महरले भने, ‘पछिल्लो पटक कांग्रेसमा मन्त्री पठाउने विषयमा सामान्य समस्या आएको थियो । कांग्रेस संसदको ठूलो पार्टी मात्र नभएर यसमा लामो समय राजनीति गरेका व्यक्तित्व हुनुहुन्छ । तीन ठाउँका उपनिर्वाचनमा गठबन्धनलाई शतप्रतिशत नतिजा ल्याउन सन्देश दिनुपर्ने भएकाले आज बेलुका वा भोलिसम्म पूर्णता पाउने सम्भावना छ ।’ अहिले चर्चामा आइरहेका नामकै वरिपरि रहेर मन्त्री पठाइने पनि उनले बताए ।

चितवन, तनहुँ र बारामा गठबन्धनका उम्मेदवार विजयी हुने उनले दाबी गरे । महरले भने, ‘चितवनमा किन यति छिटै उपनिर्वाचन भयो भनेर जनताले बुझिसकेका छन् । कतिपयको नकाब उघ्रिएको छ । हिजोको भ्रम चिरिएको छ । चितवनका जनताले स्थानीय सुगन्ध चिन्ने नेतालाई जिताउँछन् । तनहुँमा कुनै प्रतिस्पर्धा छैन । तनहुँका भुइँमान्छेहरुले भुइँमान्छेको नेता खोजेका छन् । बारामा उपेन्द्र यादवजी विजयन्मुख नै हुनुहुन्छ ।’अब एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउने कति सम्भावना छ भन्ने पत्रकार धमलाको प्रश्नमा महरले भने, ‘कांग्रेस यति छिटै सरकार परिवर्तन गर्न लाग्दैन । एमाले साउनमा आँखा फुटेको गाईजस्तै जहिले पनि सत्तामा मात्र देख्छ । कांग्रेसलाई गठबन्धन बलियो बनाउन लाग्छ । यसले चारपाँच वर्ष मजाले काम गर्छ ।’

प्रतिक्रिया दिनुहोस