कोशी प्रदेशमा दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान

सफल खबर संवाददाता

शनिबार, २५ चैत्र २०७९, ०७ : ५६
कोशी प्रदेशमा दूधमा प्रतिलिटर २ रुपैयाँ अनुदान

काठमाडौ । कोशी प्रदेश सरकारले प्रदेशमा दूध उत्पादन गर्ने छ जिल्लाका दुग्ध उत्पादन गर्ने किसानलाई प्रतिलिटर रु दुईका दरले दिने अनुदान प्रदान गरेको छ। 

स्थानीय तथा ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि दूधमा प्रतिलिटर रु दुईका दरले अनुदान रकम प्रदान गरिएको हो।

शुक्रबार नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्र इनरुवा–५ बलाहामा कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाको हातबाट किसानलाई अनुदान रकम प्रदान गरिएको छ। 

डेरीमा प्राप्त दूधको विवरणानुसार अनुदान रकम प्रदान गरिएको नवयुग दुग्ध सङ्कलन तथा वितरण केन्द्रका सञ्चालक गोविन्द पोखरेलले जानकारी दिए। केन्द्रमा दूध दिने दुई सय किसानलाई अनुदान रकम हस्तान्तरण गरिएको उनले बताए।

ग्रामीण क्षेत्रमा भैँसी तथा गाईपालन गरेर दूध उत्पादन गर्दै आएका किसानलाई प्रोत्साहन र उत्पादन वृद्धिका लागि प्रदेश सरकारले चालू आवमा रु १२ करोड ५० लाख रकम अनुदानका लागि विनियोजन गरेको छ। 

कोशी प्रदेशका झापा, मोरङ, सुनसरी, तेह्रथुम, धनकुटा र इलामका चिस्यान केन्द्र, डेरी तथा सहकारीका माध्यमबाट किसानलाई अनुदान दिइने कार्यक्रम रहेको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयका प्रमुख सचिव मेघनाथ तिमिल्सिानाले बताए।

जिल्लाका भेटेरिनरी अस्पतालबाट सूचना नै जारी गरेर दूध सङ्कलन गर्ने संस्थासँग आवेदन माग गरेको र आवेदनबाट सुनसरीको हकमा १८ संस्था छनोटमा परेकाले सोही संस्थामार्फत किसानको तथ्याङ्क सङ्कलन गरेर उनीहरुलाई अनुदान रकम वितरण गरिएको जानकारी उनले दिए।

प्रतिक्रिया दिनुहोस