चितवन-२ : उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २४ चैत्र २०७९, १६ : ३६
चितवन-२ : उपनिर्वाचनमा आचारसंहिता कार्यान्वयन गर्न आग्रह

चितवन । आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ ।

मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताए । “कोही कसैबाट उल्लङ्घन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ”, उनले भने ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहितामा भएका व्यवस्थालाई कोही कसैले पनि हल्का रुपमा लिन नहुने बताए । उनले भने, “हरेक राजनीतिक दल तथा उम्मेदवारले आफ्ना गतिविधिबारे प्रशासनलाई नियमित जानकारी दिने र स्वीकृति लिने गर्नुपर्छ ।”

आचारसंहिता पालन गर्नका लागि बनाइने भए पनि उल्लङ्घन बढी हुने गरेको दलका प्रतिनिधिले गुनासो गरेका छन् । यसअघिका निर्वाचनमा आचारसंहिता कार्यान्वयन नभएको जनाउँदै यस पटक कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।

नेपाली कांग्रेसका सचिव धु्रव पोखरेलले आचारसंहिता पालनमा सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)का प्रतिनिधि मुकुन्द दाहालले आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भए पनि कार्यान्वयनमा कतिपय दल चुकेको जनाउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराएका थिए ।

मङ्गोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले ठूला दलले आचारसंहिता उल्लङ्घन गर्ने गरेको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस