मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १४ : २५
मिटरब्याज पीडितसँग गरेको सहमति कार्यान्वयन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडाैँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनरत मिटरब्याज पीडितका माग पूरा हुने आश्वासन दिएर बिदाइ गरेका छन् । अनामनगरस्थित तमु बौद्ध गुम्बा हलमा उनले पीडितसँग माग पूरा गर्ने वाचा गर्दै समस्या समाधान हुनेमा विश्वास दिलाए ।

मिटरब्याज पीडितहरू सरकारसँग सहमति भएपछि उनीहरु अब गृहजिल्ला फर्कने तयारीमा छन् । मन्त्री श्रेष्ठले पीडितहरूकाे अवस्था बुझ्दै भने, “तपाईंहरु ढुक्क भएर घर फर्किनुहोस् । तपाईंका माग पूरा गर्ने सन्दर्भमा सहमतिअनुसार लाग्नुपर्ने न्यूनतम समयभन्दा धेरै समय लाग्दैन ।”

घर फर्किनुअघि उनीहरुको स्वास्थ्य परीक्षण सुरु गरिएको छ । वीर अस्पतालको टोलीले पीडितहरु आश्रय लिइरहेकै स्थान गुम्बा हलमा पुगी परीक्षण गरेको थियो । मन्त्री श्रेष्ठले भने, “उहाँहरु अब फर्कने तयारीमा हुनुहुन्छ । उताबाट करिब दुई साता हिँडेर आउनुभएको छ, त्यसैले उहाँहरुको स्वास्थ्य परीक्षण र आवश्यक उपचार गरिएको हो ।”

वीर अस्पतालका मेडिकल अफिसर डा सञ्जय धरेलले सबैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । “उहाँहरुको अवस्था सामान्य छ । केही दीर्घरोगका बिरामीलाई आवश्यक परीक्षण र परामर्शका लागि सिफारिस गरेका छौँ”, उनले भने ।

पीडितहरू आफ्ना माग सम्बोधन हुनेमा विश्वस्त भएर फर्किंने तयारीमा रहेको बताउँछन् । उनीहरुले गृहमन्त्रीसँग घर फर्किन आवश्यक सवारीको व्यवस्थापनका लागि समेत माग गरेका छन् । “सहमति अनुसार समस्या समाधान हुनेमा विश्वस्त छौँ”, सिरहाका श्यामकुमार ठाकुरले भने, “हामी जे उद्देश्यले काठमाडौँ आयौँ, सोही अनुसार नीति निर्माणको प्रक्रिया अघि बढेको छ ।”

मिटरब्याज पीडितहरु ११ दिन हिँडेर सर्लाहीबाट काठमाडौँ आएका थिए ।

प्रतिक्रिया दिनुहोस