कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

सफल खबर संवाददाता

आइतबार, १९ चैत्र २०७९, १३ : ३४
कपाल देखाएको अभियोगमा दुई महिला पक्राउ

तेहरान । पोशाकसम्बन्धी सरकारले जारी गरेका आदेशको उल्लङ्घन गरी सार्वजनिक रुपमा कपाल देखाएको अभियोगमा दुई जना महिलालाई पक्राउ गरिएको छ। यहाँको एक पसलमा दही किन्न गएका उनीहरूलाई एक जना पुरूष ग्राहकले हिजाब नलगाएइको भन्दै दहीले बारम्बार आक्रमण गरेका थिए । सार्वजनिक व्यवस्था बिगारेको आरोपमा ती आक्रमणकारीलाई पनि पक्राउ गरिएको न्यायपालिकाको मिजान समाचार समितिले जनाएको छ । 

 इरानको न्यायपालिकाले ती महिलालाई कपाल देखाएको आरोपमा हिरासतमा लिइएको बताएको छ ।  इरानमा महिलाले टाउको नढाक्नु गैरकानूनी मानिन्छ । यसअघि हिजाब अनिवार्य लगाउनुपर्ने कानुनी व्यवस्था अन्त्य हुनुपर्ने माग गर्दै देशमा महिनौँदेखि विरोधप्रदर्शन भइरेहका छन् । सार्वजनिक रूपमा हिजाब नलगाउनु इरानमा महिलाहरूका लागि गैरकानूनी भए पनि ठूला शहरहरूमा धेरैले हिजाब लगाउँदैनन् । कानुनप्रतिको क्रोध र निराशाले इरानी समाजमा असन्तुष्टि बढाएको छ ।

तेहरानको धार्मिक प्रहरीले नियमअनुसार हिजाब नलगाएको आरोपमा गत सेप्टेम्बरमा हिरासतमा लिइएकी २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि देशभर विरोध व्याप्त छ । हजारौँलाई पक्राउ गरिएको छ भने चार  जना प्रदर्शनकारीलाई मृत्युदण्ड दिइएको छ । इरानी राष्ट्रपति इब्राहिम रायसीले इरानी महिलाहरूले हिजाबलाई धार्मिक आवश्यकताको रूपमा लिनुपर्ने भन्दै त्यसको पालना गर्न निर्देशन दिएका छन् । “हिजाब कानुनी कुरा भएकाले त्यसको पालना गर्नु अनिवार्य छ,” उनले भनेका छन् ।