अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

सफल खबर संवाददाता

बुधबार, १५ चैत्र २०७९, ०८ : ०३
अब देखिने गरी काम गरौँ : मुख्यमन्त्री जम्मकट्टेल

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गाउँपालिकाले देखिने गरी काम गर्नुपर्ने बताएका छन् । बनेपा नगरपालिकाको ४२औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उनले साना आयोजनामा नअल्झिन सुझाव दिए ।

मुख्यमन्त्री जम्मकट्टेलले समाजले खोजेअनुसारका विकासका काम गर्न सबैलाई आग्रह गरे । “वडादेखि केन्द्रसम्म समाज झल्कने प्रतिनिधित्व रहेकाले खोजेको अनुसारको विकास हुँदै गएको छ”, उनले भने । जनादेशअनुसार काम गर्ने व्यवस्था स्थापित हुन आवश्यक रहेको उनको भनाइ थियो ।

प्रदेश सरकार विकासका काममा स्थानीय तहसँग सहकार्य गरेर नागरिकको चाहनाअनुरुपको काम गर्नमा दृढ रहेको मुख्यमन्त्री जम्मकट्टेलले बताए ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादे श्रेष्ठले बनेपा सहरलाई व्यवस्थित गर्नका लागि प्रदेश सरकारले विषेशरूपमा सहयोग गर्न आवश्यक रहेको बताए । जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले काठमाडौँको वैकल्पिक सहरका रूपमा विकास हुँदै गएको बनेपा नगरपालिकालाई प्रदेश सरकारले सहरी विकास आयोजनामार्फत व्यवस्थित सहर निर्माणको काममा सहयोग गर्न माग गरे ।

पाँचखाल नगारपालिका प्रमुख महेश खरेल, मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबा र धुलिखेल नगरपालिका प्रमुख अशोककुमार व्याञ्जूले बनेपा नगरपालिकासँग जोडिएका वडाका सिमानामा विकास आयोजनाको काम, सरसफाइ, करिडोर सडक निर्माणको काममा आवश्यक समन्वय र सहकार्य गरेर अगाडि बढ्न आफू तयार रहेको बताए ।

सो अवसरमा बनेपा नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा क्षेत्रमा निरन्तर रुपमा १५ वर्षसम्म सेवा प्रदान गर्ने शिक्षक-शिक्षिका र २५ वर्षसम्म अनवरतरुपमा सेवा गर्ने कर्मचारीलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस