विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक:  उपप्रधानमन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, ०९ चैत्र २०७९, १६ : ११
विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक:  उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले विकास लागि भौतिक पूर्वाधार क्षेत्रमा पर्याप्त लगानी आवश्यक रहेको बताएका छन्।एशियाली तथा पश्चिम प्रशान्त क्षेत्रका निर्माण व्यवसायीहरूको अन्तर्राष्ट्रिय संगठन इफाप्का र नेपाल निर्माण व्यवसायी महासंघले संयुक्त रुपमा विहिवार राजधानीमा गरेको अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले नेपालको हकमा पूर्वाधारमा पर्याप्त लगानी नभएको धारणा राखे  । पर्याप्त लगानी बाहेक निर्माण उद्योगमा गुणस्तरको अभाव तथा समयमा परियोजना नसकिने परिपाटी देखिएको उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

‘पूर्वाधारमा लगानी’ विषयक अन्तरक्रियामा उपप्रधानमन्त्री श्रेष्ठले परम्परागत शैलीमा काम गरेका कारण पनि नेपालको निर्माण उद्योगमा चुनौती थपिएकाले अब नयाँ शैलीमा काम गर्नुपर्ने धारणा व्यक्त गरे ।  निर्माणमैत्री ऐन कानून नहुँदा निर्माण उद्योगमा समस्या देखिएको स्विकार गर्दै उनले समय सापेक्ष ऐन कानून बनाउन नेपाल निर्माण व्यवसायी महासंघ जस्ता संस्थाको महत्वपूर्ण भूमिका रहने बताए । 

भौतिक पूर्वाधार तथा यातायातको क्षेत्रमा विकास गर्न आफूले विभिन्न कार्यदल गठन गरी काम थालिसकेको जानकारी गराउँदै उपप्रधानमन्त्री श्रेष्ठले आफू सबैसँग सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।  इफाप्का समेत अध्यक्ष रहेका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले नेपालमा मात्र नभएर विश्वभरी नै दिगो पूर्वाधार विकासको आवश्यकता बढ्दै गएको बताए ।

कमजोर वित्तिय अवस्था तथा प्रविधिका कारण नेपाल जस्ता मुलुकलाई दिगो विकासको लक्ष्य हासिल गर्न कठीन भएको अध्यक्ष सिंहले बताए ।  इफाप्काका महासचिव पनि रहेका नेपाल निर्माण व्यवसायी महासंघका सल्लाहकार विरेन्द्र राज पाण्डेले इफाप्काको उद्देश्यमाथि प्रष्ट पार्दै ४६ औं इफाप्का सम्मेलन आगामी मंसिर ४ देखि ८ सम्म काठमाडौंमा आयोजना गर्न लागिएको जानकारी दिए ।

इफाप्काका कार्यकारी निर्देशक लेभी भी.एसपीरीतुले पूर्वाधारको क्षेत्रमा आ—आफ्नो अनुभव आदानप्रदान गर्न यस्ता कार्यक्रम निकै उपयोगी हुने बताए ।
विश्व वन्यजन्तु कोष नेपालका डाक्टर घनश्याम गुरुङले नेपालमा द्रुत गतिमा पूर्वाधार निर्माण भइरहेको र यही बेला दीगो तथा गुणस्तरीय निर्माणमा ध्यान दिनुपर्ने उपयुक्त समय रहेको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस