चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा जाँदै

एजेन्सी

आइतबार, ०५ चैत्र २०७९, ११ : ४९
चिनियाँ राष्ट्रपति सी रुस भ्रमणमा जाँदै

एजेन्सी । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनफिङ्बीच मस्कोमा भेट हुने भएको छ । रणनीतिक साझेदारीमा विस्तृत सम्झौता र युद्ध अन्त्यका लागि प्रस्ताव लिएर उनी मस्को जान लागेको क्रमेलिनका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

बेइजिङले रूस युक्रेन–युद्धको शान्तिपूर्ण अवतरण चाहेको विषय सार्वजनिक भएको दुई सातापछि दुई मुलुकका सकमक्षीबीच वार्ता हुन लागेको हो ।रूसले युक्रेनमा हमला गरेयता सी पहिलोपटक मस्को जान लागेका हुन् । उनीहरूबीच मंगलबार वार्ता हुने बीबीसीले जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता अनुसार चीनले युद्ध अन्त्यको विषयमा रचनात्मक ढंगले वार्ता गर्नेछ । ‘युद्ध अन्त्यका लागि चीनले निष्पक्ष भूमिका निर्वाह गर्नेछ भने विश्व शान्ति र युद्ध अन्त्यका लागि रचनात्मक ढंगले संवाद गर्नेछ ।’

चीनको राष्ट्रपति मस्को जाने विषयलाई बेलायतले पनि स्वागत गरेको छ । बेलायती प्रधानमन्त्री ऋषि सुनकका प्रवक्ताले युक्रेनको सार्वभौमसत्ताको रक्षाका लागि चीनले गर्न थालेको पहलप्रति बेलायत पनि सकारात्मक रहेको छ ।

चिनियाँ राष्ट्रपति नै मस्को जाने विषयले बेइजिङले रूसलाई बलियो समर्थन गरेको संकेतका रूपमा पनि धेरैले बुझेका छन् । विश्व भूराजनीतिमा पकड जमाउन खोजिरहेका रूस र चीन दुवैले बहुध्रुवीय विश्वको सिद्धान्तलाई अंगालिरहेका छन् ।

पुटिन र सीको भेटको संयोग

गत वर्षमात्रै सी र पुटिनले दुई मुलुकको साझेदारीको कुनै सीमा नरहेको बताइसकेका छन् । अहिलेसम्म बेइजिङले मस्कोलाई सैन्य सहयोग गरिरहे पनि कुनै पनि घातक हतियार भने पठाएको छैन । यद्यपि अमेरिकाले भने चीनले यसको तयारी गरिरहेको आरोप लगाइरहेको छ । चीनले चाहेको खण्डमा युद्ध अन्त्यका लागि तटस्थ भूमिका निर्वाह गर्नसक्ने अपेक्षा गरिएको छ ।

पुटिन र सीको यो भेटको एक संयोग पनि छ । उनीहरू अमेरिकाले इराकमा गरेको हमलाको २० औँ वर्षगाँठका दिन भेट्दैछन् । त्यस हमलाको चीन र रूस दुवैले विरोध गरेका थिए । चीन अहिले कूटनीतिक रुपमा आफूलाई जबर्जस्त अघि बढाउँदैछ । मध्यपूर्वका इरान र साउदी अरेबियाबीच शान्ति वार्ता गराएको उसले रूस र युक्रेनबीच वार्ता गराउँदै कूटनीतिक रूपमा आफूलाई अझै सशक्त बनाउन खोजेको अनुमान भइरहेको छ ।

यद्यपि आलोचकहरू युद्धका कारण पश्चिमाहरूको अर्थतन्त्रमा प्रभाव परिरहेकाले चीनले युद्ध नै चाहने बताइरहेका छन् । यस युद्धमा पश्चिमाहरूको स्रोत साधन धेरै खर्च भएकाले चीनले तटस्थ हुन नसक्ने उनीहरूको आरोप छ ।

चीनले रूस र युक्रेनको युद्ध अन्त्यका लागि १२ बुँदे प्रस्ताव तयार गरेको छ । त्यसमा स्पस्ट रूपमा युद्ध अन्त्य गरिने विषय भने समावेश गरिएको छैन ।गत फेब्रुअरीमा युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले सीलाई भेट्न चाहेको बताएका थिए । ‘म सीलाई भेटेर निश्चिन्त हुन चाहान्छु की बेइजिङले रुसलाई हतियार उपलब्ध गराएको छैन,’ उनले भनेका थिए ।

सी मस्को आउनुअघि जेलेन्स्की र उनीबीच टेलिफोन संवाद हुने चर्चा भइरहेको छ । युक्रेनले सीको मस्को भ्रमणले उसलाई पनि समर्थन गर्ने मुलुक रहेको प्रस्ट हुने बताइरहेको छ ।

युक्रनेका विदेश मन्त्री दिमिद्रो कुलेवाले भनेका छन्, ‘रूसलाई हतियार दिइरहेको चीनले शान्ति चाहन्छ भन्ने विश्वास हामीलाई छैन । हामीलाई चीनले शान्ति वार्ता गर्छ भन्ने पत्यार पनि छैन ।’

अमेरिकाले पनि सी र जेलेन्स्कीबीच संवाद होस् भन्ने चाहेको छ । अमेरिकी सुरक्षा परिषद्का प्रवक्ताले भनेका छन्, ‘दुई मुलुकबीचको संवाद भयो भने यो साह्रै राम्रो हुनेछ ।’

गत बिहीबार चीनका विदेशमन्त्रीले युक्रेन र रुसबीच यथाशीघ्र संवाद गराउने बताएका थिए । यद्यपि युक्रेनका विदेशमन्त्री कुलेवाले भनेका छन्, ‘चीनले क्षेत्रीय अखण्डताको सिद्धान्त बुझोस् र त्यही अनुसार शान्ति वार्ता गरोस् ।’

प्रतिक्रिया दिनुहोस