उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट

सफल खबर संवाददाता

विहीबार, ०२ चैत्र २०७९, १६ : ३५
उपप्रधानमन्त्री श्रेष्ठसँग बङ्गलादेशका राजदूत चौधरीको भेट

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाहुद्दिन नोमन चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन्।

आज मन्त्रालयमा भएको भेटवार्तामा उपप्रधानमन्त्री श्रेष्ठले समृद्धिका लागि दुवै राष्ट्र मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए।कतारमा भएको अतिकम विकसित मुलुकको सम्मेलनका क्रममा बङ्गलादेशका प्रधानमन्त्रीसँग आफूले भेटवार्ता गरेको स्मरण गर्दै उनले नेपाल र बङ्गलादेश नजिकका र पुराना मित्रराष्ट्र भएको उल्लेख गरे। दूरीका हिसाबले बङ्गलादेश नेपालको तेस्रो नजिकको छिमेकी मित्रराष्ट्र भएको उहाँको भनाइ थियो ।

भेटवार्ताका क्रममा राजदूत चौधरीले नेपाल आफूहरूको नजिकको मित्रराष्ट्र भएको उल्लेख गरेका थिए। उनले नेपालमा राजदूत भएर आएको दुई वर्ष भइसकेको बताउँदै नेपाल र नेपाली आफूलाई धेरै मन परेको भनाइ राखे।

राजदूत चौधरीले बङ्गलादेशको राष्ट्रिय दिवस (नेसनल डे) को अवसरमा यही मार्च २० मा हुने कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी हुन उपप्रधानमन्त्री श्रेष्ठलाई आग्रह गरेको उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस