राजधानीका चोक-चोकमा पैदलयात्री सचेतना अभियानको सुरुवात

सफल खबर संवाददाता

बुधबार, ०१ चैत्र २०७९, ११ : ४८
राजधानीका चोक-चोकमा पैदलयात्री सचेतना अभियानको सुरुवात

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले जेब्राक्रसिङ तथा आकाशेपुलबाट सडक पार गर्न र साईकल चालकलाई ट्राफिक नियम सम्बन्धी जनचेतना फैलाउन पैदलयात्री सचेतता अभियानको सुरुवात गरेको छ । जेब्राक्रसिङ तथा आकाशे पुल प्रयोग गरौँ भन्ने प्ले  कार्डसहित ट्राफिक प्रहरीले उपत्यकाका बिभिन्न चोक-चोकमा बसेर अभियानको सुरुवात गरेको हो । दिनप्रतिदिन बढ्दो सवारी चापका साथै आकोशपुल र जेब्राक्रसिङ बाहेकका स्थानबाट जथाभावी सडक पार गर्दा ज्यानै जोखिममा पर्ने तथ्यांकलाई आधार मान्दै सुरूवात गरिएको अभियानमा सोमबार ६३७ पैदलयात्रीहरूलाई ट्राफिक प्रहरीले सम्झाई(बुझाई गरेको छ ।

सम्झाई-बुझाईका क्रममा काठमाडौँको न्युरोड, बालकुमारी, जडिबुटी, ललितपुरको सातदोबाटो र जावलाखेल, भक्तपुरको सल्लाघारी र गठ्ठाघरमा रहेको आकाशेपुलबाट पैदलयात्रुहरूलाई सडक वारपार लगाईएको थियो ।यस्तै ट्राफिक प्रहरीले रेड लाईट क्रस गर्ने, जेब्रा क्रसिङमा रोक्ने, फुटपाथमा साईकल चलाउने लगायतका विविध ट्राफिक नियम उल्लंघन गर्ने १९३ जना साईकलका चालकहरूलाई पनि सम्झाई-बुझाई गरेको छ ।

काठमाडौँको कमलपोखरी, थापाथली, बल्खु, बुढानिलकण्ठ, नयाँबसपार्क, नागढुङगा, बौद्ध र भक्तपुरमा साईकलयात्रीलाई सम्झाई बुझाई गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए । 
यस अघि २०७४ वैशाख र २०७६ पुसमा पनि जथाभावी सडक पार नगरौँ भन्ने जनचेतनामुलक कार्यक्रम ट्राफिक प्रहरीले सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस