सरकारले बढायो रासायनिक मलको मूल्य

पत्रपत्रिकाबाट

मंगलबार, ३० फागुन २०७९, ०८ : ११
सरकारले बढायो रासायनिक मलको मूल्य

काठमाडौं । सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी भाउ बढाएको छ । अनुदान कटौतीसँगै अब सबै प्रकारका रासायिनक मलको मूल्य साविकभन्दा महँगो हुनेछ ।

यसको प्रत्यक्ष असर किसानलाई पर्नेछ । यसअघि समयमा मल नपाएका कृषक थप मारमा पर्नेछन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले मलको मूल्य बढाइएको जानकारी गराएको हो । कृषिप्रधान मुलुकमा सरकारले मलको भाउ बढाएर किसानमाथि अन्याय गरेको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार २६ फागुनअघिको तुलनामा अब युरिया मल किलोमा ११ रुपैयाँ, डीएपी किलोमा ७ रुपैयाँ र पोटास किलोमा ९ रुपैयाँले महँगो भएको छ ।

बढेको मूल्यअनुसार अब युरिया मलको प्रतिकिलो किसान मूल्य २५ रुपैयाँ, डीएपीको ५० रुपैयाँ र पोटासको ४० रुपैयाँ कायम भएको छ । यसअघि १४ रुपैयाँमा युरिया, ४३ रुपैयाँमा डीएपी र ३१ रुपैयाँ किलोमा पोटास किन्न पाइन्थ्यो । राजधानी दैनिकमा  यो खबर छ ।

प्रतिक्रिया दिनुहोस