म्याग्दी । पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान)द्वारा अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित कार्यक्रममा वक्ताले पोखरा आउने पर्यटकको बसाइ लम्ब्याउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले म्याग्दीका सम्भावनालाईसमेत उजागर गर्नुपर्ने बताए ।
११३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा पर्यटन प्रवर्द्धन कार्यक्रम लिएर पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) पोखराको टोली बुधबार म्याग्दीको बेनी आइपुगेको हो । जिल्ला समन्वय समितिमा आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय अध्यक्ष आनन्दराज मुल्मीले विगतमा भारतदेखि आएर म्याग्दीका तामाखानीबाट तामा लगेको इतिहास स्मरण गर्दै ती साधनस्रोतको उपयोग गर्नेतर्फ ध्यान नपुगेको बताए । म्याग्दीका छन्त्याल जातिले तामा उत्खननमा विज्ञता हासिल गरेको उनले बताए ।
बहुमूल्य बनस्पतिका लागि पनि म्याग्दी प्रख्यात रहेको उल्लेख गर्दै मुल्मीले अल्लोका साथै जापानी रुपैयाँ बनाउनका लागि प्रयोग गरिने अँगेरे म्याग्दीका विभिन्न स्थानमा पाइने बताए । समाजमा आर्थिक रुपान्तरणका लागि लाग्नु जरुरी रहेको उल्लेख गर्दै उनले त्यसका लागि आर्थिक क्षमता अभिवृद्धि गर्नेतर्फ उद्यमशीलता विकास गर्नुपर्नेमा जोड दिए ।
टेवानका अध्यक्ष कमला गिरीले धार्मिक पर्यटकीय गन्तव्यका रुपमा म्याग्दीको विकास गर्नुपर्ने बताइन् । पर्यटनलगायतका क्षेत्रमा क्रियाशील महिलाको क्षमता अभिवृद्धि गर्नुपर्ने उल्लेख गर्दै उनले उद्यमशीलताका माध्यमबाट आर्थिक समृद्धि हासिल गर्नेतर्फ लाग्नुपर्नेमा जोड दिइन् । म्याग्दी तथा मुस्ताङका व्यवसायी युवा तथा महिलाको क्षमता अभिवृद्धि कार्यक्रमसहित टेवानले यस क्षेत्रमा प्रवद्र्धन कार्यक्रम गर्न लागेको उनको भनाइ छ ।
पोखरा पर्यटन परिषद्का महासचिव सञ्जयकान्त सिग्देलले पोखरासँग म्याग्दीको पर्यटकीय सम्बन्ध जोड्नुपर्ने बताए । भएका पूर्वाधारको विकाससँगै प्रवर्द्धन र पर्यटन लक्षित कार्यक्रमलाई जोड दिँदै यहाँका स्थानीयको आयआर्जन बढाउनेतर्फ लाग्नु जरुरी रहेको उनको भनाइ थियो । “पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेकाले म्याग्दी र मुस्ताङमा उत्पादन हुने आलु, स्याउ, सुन्तला, टिमुर, अल्लोका कपडा, फापरलगायतको अन्तर्राष्ट्रिय बजारीकरण आवश्यक छ”, उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ फागुन २०७९, ११ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोखरासँग जोडियो सहश्राव्दी पदमार्ग
‘पोखरादेखि चीनका सहरमा सिधा हवाई सम्पर्क’
पोखराका मुहान सुक्न लागे, खानेपानीको समस्या
नयाँ वर्ष २०८० को आगमनसँगै पोखराको होटलमा ९० प्रतिशत पर्यटक
पोखराबाट अन्तर्राष्ट्रिय उडान गर्न व्यवसायीको माग
पोखरामा पर्यटन व्यवसाय संकटमा