शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थाले : अखिल क्रान्तिकारी

सफल खबर संवाददाता

बुधबार, २४ फागुन २०७९, १२ : १२
शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थाले : अखिल क्रान्तिकारी

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले शान्ति प्रक्रियाका बाँकी काम रोक्नेहरू सलबलाउन थालेको बताएको छ । 

अखिल क्रान्तिकारीकी अध्यक्ष पन्चा सिंहले एक विज्ञप्ति जारी गर्दै देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने विरुद्ध सङ्घर्षमा उत्रिने बताएकी छन् । 

प्रधानमन्त्री प्रचण्ड विरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा दायर गर्नु गम्भीर ध्यानाकर्षण भएको सिंहले बताइकी छन् । जनयुद्धकालीन मुद्दा सत्य निरूपण तथा मेलमिलाप आयोग मार्फत टुङ्गो लगाउनु पर्ने सिंहले बताइन् । ‘हामी चाहन्छौँ द्वन्द्वकालीन मुद्दाहरूको बारेमा सत्य निरूपण आयोग र बेपत्ता आयोग मार्फत छिटोभन्दा छिटो काम सम्पन्न होस्’ विज्ञप्तिमा भनिएको छ,‘तर विभिन्न बहनामा हिजो टिआरसी विधेयक रोकेर शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न नदिने को हुन हामीले चिनेका छौँ । आज तीनै शक्तिहरू फेरी सक्रिय हुन खोजिरहेका छन् । देशलाई द्वन्द्वको आगोमा होमेर रोटी सेक्न मन पराउने त्यस्ता शक्तिहरूको विरुद्ध सङ्घर्ष गर्न अखिल क्रान्तिकारी सधैँ तयार छ ।’

प्रतिक्रिया दिनुहोस