मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन

सफल खबर संवाददाता

मंगलबार, २३ फागुन २०७९, १० : ३७
मिथिलामा आज पञ्चकोशी परिक्रमा समापन

जनकपुरधाम । मिथिला माध्यमिकी परिक्रमाको अन्तिम दिन मंगलबार तीर्थालुहरू जनकपुरधामको अन्तरगृह परिक्रमा गरिरहेका छन्।

पञ्चकोशी भनेर चिनिने यस परिक्रमामा जनकपुरधामको नगर परिक्रमा गरिन्छ। अन्तरगृह परिक्रमामा सहभागी भए १५ दिने माध्यमिकी परिक्रमा सरह फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

सोहीअनुसार अन्तरगृह परिक्रमामा पनि लाखौँ भक्तजनले सहभागिता जनाउने गर्दछन्। अन्तरगृह परिक्रमामा लाखौं संख्यामा साधुसन्त, स्थानीयवासी तथा श्रद्धालुहरूको सहभागिता रहेको छ।

धनुषाको ठेरा कचुरीस्थित मिथिला बिहारी मठबाट निस्केको मिथिला बिहारीको डोला तथा जनकपुरधामको सुन्दर सदनबाट निस्केको किशोरीजीको डोला नेपाल र भारतको विभिन्न धार्मिक स्थलको परिक्रमा गर्दै सोमबार जनकपुरधाम फर्केर विश्राम गरेको थियो।

परिक्रमामा सहभागिहरूका लागि यहाँका स्थानीय संघसंस्था एवं युवा क्लबहरूले ठाँउ ठाँउमा निःशुल्क स्वास्थ्य शिविर, चिया, खाजा लगायतका
व्यवस्थापन गरेका छन्।

अन्तरगृह परिक्रमामा सहभागी श्रद्धालु जनकपुरधामको गंगासागरलगायत यहाँका विभिन्न धार्मिक सरोवरहरूमा स्नान वा सेचन गर्दै रामजानकी मन्दिर एवं विभिन्न देवी देवताको मन्दिरमा दर्शन गरेर कदम चोकमा पुग्दछन् ।

प्रतिक्रिया दिनुहोस