उद्धार गरिएको हुचिल वनमा छोडियो

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १० : ३५
उद्धार गरिएको हुचिल वनमा छोडियो

धादिङ । धादिङको नौबिसेबाट उद्धार गरिएको संरक्षित पंक्षी हुचिल नीलकण्ठ नगरपालिका–८ स्थित सामुदायिक वन क्षेत्रमा छोडिएको छ ।डिभिजन वन कार्यालयले जनप्रतिनिधि, नेपाल प्रहरी र स्थानीयको रोहवरमा शनिवार ती पंक्षीलाई वनमा छाडिदिएको हो ।

अवैध ढंगले बिक्री गर्न लागेको सूचनाका आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र ईलाका प्रहरी कार्यालय खानीखोलाको प्रहरी टोलीले फागुन १६ गते नौबिसे क्षेत्रबाट हुचिलको उद्धार गरेको थियो ।

हुचिल बोकेर हिँड्ने मकवानपुरको थाहा नगरपालिका–१२ का रमेश स्याङ्तान र धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ का विनोद लामालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लाटोकोसेरा प्रजातिको संरक्षित पंक्षी हुचिलको प्राकृतिक वासस्थान नै जंगल हो । हुचिल जादुगर चरोको उपनामले परिचित छ । करीब ६० वर्ष आयु हुने हुचिल तीन केजीभन्दा माथि भयो भने खुट्टाका नङ्गाले सिसा काट्न सक्ने र ५ केजी तौल नाघेपछि यसलाई छुँदा करेन्ट लाग्ने सोधकर्ताहरू बताउँछन् ।तर यसको संख्या बर्सेनि घट्ने क्रममा रहेको जनाइको छ ।

हुचिलको अवैध बिक्री वितरण रोकी संरक्षण गर्नुपर्ने आवाज उठिरहेका बेला तस्करको हातबाट उद्धार गरिएको हुचिल जंगलमा छोडिनुले यसको संरक्षणमा सकारात्मक सन्देश पुग्ने नीलकण्ठ–८ का वडाध्यक्ष प्रकाशकुमार श्रेष्ठले बताए । हुचिल नेपाल, भारतलगायत दक्षिण अफ्रिका र एसियाका केही देशमा मात्र पाइन्छ ।

प्रतिक्रिया दिनुहोस