महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

सफल खबर संवाददाता

आइतबार, २१ फागुन २०७९, १० : २८
महेन्द्रनगर बजार क्षेत्रका सडक विस्तार गरिँदै

कञ्चनपुर। पूर्वपश्चिम राजमार्ग स्तरोन्नतिलाई कञ्चनपुरमा अगाडि बढाइएको छ ।सडक डिभिजन कार्यालय महेन्द्रनगरले राजमार्ग स्तरोन्नति कार्यक्रमअन्तर्गत ८ करोड रुपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत काम थालनी गरेको हो ।

यसका लागि माटो भरान गर्ने, कल्भर्ट बनाउने कार्य भइरहेको कार्यालयका  सूचना अधिकारी पियुस चटौटले बताए । उनका अनुसार महेन्द्रनगर बजार क्षेत्रको शिवमन्दिर अगाडिको क्षेत्रमा ३ किलोमिटर र झलारी क्षेत्रमा १ हजार २०० मिटर सडक स्तरोन्नति भइरहेको छ । सडक स्तरोन्नति सकिएसँगै कालोपत्रे गर्ने कार्य हुने सूचना अधिकारी चटौतले बताए ।

‘१० पाइप कल्भर्ट चौडा गर्ने अन्तिम चरणमा पुगेको छ,’ उनले भने, ‘सडकको चौडाइ बढाएर चार लेनको बनाउनका लागि कार्य अगाडि बढेको छ ।’ ट्राफिकको चाप बढी भएका ठाउँमा सडकमा १/१ लेन थप्ने कार्य भइरहेको उनको भनाइ छ । गत वर्ष सडक वोर्डबाट राजमार्गको भाँसी सडकखण्ड चौडा गर्ने कार्य गरिएको थियो । 

गड्डाचौकी, दैजी, सिसैया लगायत सडकखण्डमा सडक चौडा गर्ने कार्य यसअघि नै गरिएको छ । सडक चौडा गर्ने कार्यका लागि मुमताज कन्ट्रक्सन, जसलिङ्ग जेभी र कल्भर्ट चौडा गर्नका लागि मैनाचुली जेभीसँग ठेक्का सम्झौता गरिएको छ । पुराना ठेक्काबाट बचेको रकमबाट पुनः बोलपत्र आह्वान गरी सडक स्तरोन्नतिको कार्य अगाडि बढाइँदै आएको छ । 

चालू आवको असार मसान्तसम्म सडक र कल्भर्ट चौडा गर्ने कार्य पूरा गर्नका लागि समय सीमा निर्धारण गरिएको छ । 

सडक डिभिजन कार्यालय महेन्द्रनगरले निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमअन्तर्गत कैलाली र कञ्चनपुरका ८ निर्वाचन क्षेत्रमध्ये ७ वटामा सडक निर्माणको कार्य गरी रहेको छ । ‘जग्गा प्राप्ति नहँुदा एउटा निर्वाचन क्षेत्रमा सडक स्तरोन्नति कार्य अगाडि बढ्न सकेको छैन,’ सडक डिभिजन कार्यालयका सूचना अधिकारी चटौतले भने, ‘बाँकी ७ वटामा कार्य अगाडि बढेको छ ।’

सडक स्तरोन्नतिको प्रगति हालसम्म १५ प्रतिशतसम्म  छ । ‘२ वर्षभित्रै सडक स्तरोन्नति गरी सक्नुपर्ने गरी ठेक्का प्रक्रियामार्फत काम भइरहेको छ,’ उनले भने, ‘७ वटै सडक स्तरोन्नतिका लागि ३ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।’ ७ वटै सडक ८ देखि १० किलोमिटरका रहेका छन् । 

प्रतिक्रिया दिनुहोस