ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

सफल खबर संवाददाता

शनिबार, २० फागुन २०७९, ०९ : ४७
ठमेलमा पर्यटकको चहलपहलसँगै व्यवसायी उत्साहित

काठमाडौं । संघीय राजधानी काठमाडौंको प्रमुख पर्यटकीय क्षेत्र ठमेललगायत नेपालका विभिन्न क्षेत्रमा पर्यटकको चहलपहल र आगमन बढ्न थालेको छ । कोरोना महामारीबाट थला परेको ठमेललगायत देशभरका पर्यटकीय गन्तव्यमा बिस्तारै पर्यटकीय चहलपहल बढ्न थालेको हो । 

अहिले काठमाडौंको ठमेल क्षेत्रमा विस्तारै विदेशी पर्यटक देखिन थालेका छन् । ठमेल क्षेत्रका सडकमा व्यवसायी देखिन थालेसँगै लामो समयदेखि तनावमा रहेका पर्यटन व्यवसायीमा आशा जाग्न थालेको छ ।

ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल ९टान०का अध्यक्ष निलहरि बाँस्तोला पर्यटन आवागमनसँगै नेपालको पर्यटन उद्योगमा केही आशा पलाएको बताउँछन् । ‘लामो समय कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रमा पर्यटक आएसँगै खुशी छाएको छ,’ उनी भन्छन् । विश्व सम्पदा सूचीमा रहेका नेपालका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गरेर जतिसक्दो पर्यटक भित्र्याएर राज्यले फाइदा लिनुपर्ने उनको भनाइ छ ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्मा अहिले ठमेलमा विदेशी पर्यटक बढ्न थालेको बताउँछन् । ‘ठमेलका भित्री गल्लीमा बिस्तारै विदेशी पर्यटक देख्न थालिएको छ,’ उनी भन्छन् । ठमेलमा ८० प्रतिशत व्यापार बाह्य पर्यटकबाट र २० प्रतिशत व्यापार आन्तरिक पर्यटकबाट हुने गरेको छ । ठमेल क्षेत्रमा १ हजारभन्दा बढी होटल रहेका छन् ।

ठमेलको चारतारे होटल रमदा इन्कोरका सञ्चालक गोपाल पङ्गेनी पर्यटन मौसम शुरू भएसँगै आफ्नो होटलमा बुकिङ गर्ने पर्यटकको संख्या बढेको बताउँछन् । अंग्रेजी पात्रोअनुसार मार्च, अप्रिल र मे महिनालाई नेपालमा पर्यटकीय मौसमका रूपमा लिने गरिन्छ । काठमाडौं महानगरपालिका–१६ ठमेलमा ९२ कोठासहित सञ्चालनमा रहेको रमदा होटलमा मार्चमा ७० प्रतिशत, अप्रिल र मेमा ९० प्रतिशत कोठा बुकिङ भएका छन् ।

सोही होटलका महाप्रबन्धक महेश फुँयाल ठमेलमा पर्यटकीय गतिविधि बिस्तारै बढ्दै गएको बताउँछन् । ‘१ महिना पहिलेभन्दा अहिले होटलमा आउने स्वदेशी तथा विदेशी पाहुना बढेका छन्,’ उनी भन्छन् । अब बिस्तारै नेपालको पर्यटन क्षेत्रले गति लिने उनको अपेक्षा छ ।

ठमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने पाहुना खचाखच हुन थालेका छन् । शुक्रवार र शनिवार भने ठमेलमा थप चहलपहल हुँदै आएको छ । व्यावसायिक घराना, पारिवारिक जमघटदेखि युवापुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको ठमेलका क्लब पुनः व्यावसायिक बाटोमा फर्किन थालेका छन् ।

ठमेलमा रात्रिकालीन व्यवसाय सञ्चालन गर्दै आएका द सर्ट स्टेसन रेस्टुराँ एन्ड बारका सञ्चालक धर्मराज पनेरु रातिको समयमा ठमेलमा मनोरञ्जन गर्न आउने विदेशी पाहुनाको संख्या बढेको बताउँछन् । ‘पछिल्लो १५ दिनदेखि रात्रिकालीन व्यवसाय क्रमशः राम्रो हुँदै गएको छ, यसले हामी व्यवसायीमा खुशी छाएको छ,’ उनी भन्छन् । ठमेल क्षेत्रमा ६ हजारभन्दा बढी व्यक्तिले व्यापार व्यवसाय गर्दै आएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२३ को फ्रेबुअरीमा हवाईमार्ग भएर ७३ हजार २५५ पर्यटकले नेपाल भ्रमण गरेका छन् । जनवरीमा ५५ हजार ७४ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । अघिल्लो वर्ष सन् २०२२ को फ्रेबुअरीमा १९ हजार ७६६ पर्यटकको नेपाल आगमन भएको थियो । सन् २०२१ को सोही महिनामा ९ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।