सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

एजेन्सी

शुक्रबार, १९ फागुन २०७९, ०८ : २८
सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

एजेन्सी । सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ।

एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो।

सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा बुधबार साँझ जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता उच्च र अत्यावश्यक रहेको उल्लेख गर्दै मानवीय संस्थाहरूले जीवन रक्षक सहायता प्रदान जारी राख्न थप कोषको माग गरेको छ।

‘सोमालिया भोकमरीको उच्च बिन्दुमा पुगेको छ। स्थिति अत्यन्तै गम्भीर छ किनकि देशले मार्चदेखि जुनसम्म औसतभन्दा कम वर्षा हुने सम्भावना बताएको छ। यसले खाद्यान्नको मूल्य असाधारण रूपमा उच्च हुनेछ’, सोमालियाका सेभ द चिल्ड्रेनका कन्ट्री डाइरेक्टर मोहम्मद हसनले भने।

च्यारिटीका अनुसार सन् २०२२ को डिसेम्बरदेखि कुपोषणको सिकार हुने बालबालिकाको सङ्ख्यामा कुनै परिवर्तन आएको छैन। यद्यपि गम्भीर कुपोषित हुने अनुमान गरिएको बालबालिकाको सङ्ख्या पाँच लाख १३ हजार ५००बाट घटेर करिब चार लाख ८० हजारमा झरेको छ।

सोमालियामा कम वर्षा भएमा अनिकालको जोखिम कायमै रहने र विस्थापित जनसङ्ख्यालगायत अति जोखिममा रहेका व्यक्ति तथा द्वन्द्वका कारण पुग्न कठिन क्षेत्रमा बसोबास गर्ने मानिसहरूसम्म मानवीय सहायता पुग्न नसकेमा अनिकालको जोखिम कायमै रहने चेतावनी दिँदै थप मानवीय क्षति हुन नदिन तत्काल अन्तर्राष्ट्रिय कोषको माग गरिएको छ।

सन् २०२२ मा, संयुक्त राष्ट्रसङ्घले सोमालियाले चार दशकको सबैभन्दा खराब खडेरीको सामना गरिरहेको र यसका कारण खाद्यान्नको अनिकालको चेतावनी दिएको थियो। लगातार पाँच बर्षायाममा बर्षाको मात्रा अति कम भएकोले सन् २०११ को पुनरावृत्तिको चिन्तालाई बढावा दिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

सन् २०११ मा करिब दुई लाख ६० हजार मानिसहरूको मृत्यु भएको थियो। मोहम्मदका अनुसार मानवीय प्रयासले सम्भावित अनिकालबाट जोगिएको भए तापनि देशभर भोकभोकै हुने र कुपोषित बालबालिकाको सङ्ख्या चिन्ताजनक रूपमा उच्च छ।

प्रतिक्रिया दिनुहोस