काठमाडाैं । नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले माओवादी स्थिर बसेर देशको विकास सम्भव नरहेको दाबी गरेका छन् ।बिहीवार कीर्तिपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार समेत रहेका उनले यस्तो बताए । उनले पछिल्लो राजनीतिक घटनाक्रमलाई नियालेर आममानिसहरूले माओवादी केन्द्र अस्थिर भएको भनिरहे पनि अहिलेसम्म माओवादी स्थिर भएको भए देश यो अवस्थामा परिवर्तित हुन नसक्ने दाबी गरे ।
उनले माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन, शान्ति प्रक्रियाका कामहरू अघि नबढ्ने दाबी गरे । उनले माओवादी कहिले पछि र कहिले अघि बसेर देशको जिम्मेवारी गरिरहेको उल्लेख गरे । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने र बेपत्ताहरूको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएको बताए । उनले राजनीतिमा अहिले हरेक स्थानमा चुनौती रहेको भन्दै त्यसलाई चिरेर आफू अघि बढ्ने बताए ।
उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहाल पदका लागि सत्तामा नगएको पनि दाबी गरे ।उनले भने, ‘मुख्य कुरा व्यवस्था बदलियो अवस्था बदलिएन । अवस्था बदलिएको भए अर्कै उत्साहको वातावरण हुन्थ्यो । त्यो बदलिन सकिरहेको छैन । अहिले हाम्रो पार्टीका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुन कोसिस गर्नुभयो ,उहाँ सफल पनि हुनुभयो । त्यो अरु कुनै कारण होइन, मानिसहरूले कुर्सीका लागि यता, उता भन्ने गर्दछन् तर उहाँ कुर्सी छोडेको मान्छे पनि हो ।
२०६४ सालको चुनावमा प्रत्यक्षतर्फ १४० जितेर ठूलो दल हुँदा पनि एउटा प्रकरणमा राजीनामा दिनुभयो, नछोडेको भए नि हुन्थ्यो, कुर्सीप्रति मोह भए किन दिनुपर्दथ्यो, शक्तिशाली थियो तर आफूले चालेको कदम असफल भए पनि जिम्मेवारी लिएर दिनुभयो तर अहिले त्यस्तो होइन, कहिले यता कहिले उता भन्ने प्रश्न छ तर यसमा प्रधानमन्त्रीको भनाइ के छ भने यो देश यहाँ आइपुग्ने थिएन, माओवादी स्थिर भएर बसिरहेको भए सेना समायोजन हुने थिएन, शान्ति प्रक्रिया अघि बढ्ने थिएन ।
त्यसकारण माओवादी अहिलेसम्म यता उती नगरेको भए सम्भव थिएन, कहिले अघि बढ्ने कहिले पछि हट्ने गरेर जिम्मेवारी गरिरहेको छ । शान्ति प्रक्रियाको केही काम बाँकी छ, बेपत्ताहरुको समस्या, शान्ति प्रक्रियासम्बन्धी विभिन्न मुद्दा बाँकी छन्, त्यसलाई समाधान नगरेसम्म फेरि बल्झिने खतरा हुन्छ, त्यसैले शान्ति प्रक्रिया र हस्ताक्षरकर्तामध्ये एक जना आफू हुनुहुन्छ, त्यसैले आफैंले सम्बोधन गर्न र पहल गर्न आवश्यक छ भनेर लागिपर्नु भएको छ । त्यसले एउटा सकारात्मक सन्देश गइरहेको छ । पाइलैपिच्छे चुनौती छन् तर जनताले थोरै आशा गरेका छन् ।’
उपमहासचिव गजुरेलले प्रधानमन्त्री दाहालले देशलाई सुशासनतर्फ लैजान नै राष्ट्रिय सहमतिलाई पहिलो प्राथमिकतामा राखेर अघि बढेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ फागुन २०७९, १५ : २३
लेखकबाट थप