६० वर्षपछि नोकियाले बदल्यो लोगो

सफल खबर संवाददाता

विहीबार, १८ फागुन २०७९, १० : ३८
६० वर्षपछि नोकियाले बदल्यो लोगो

काठमाडौं। फिनल्याण्डको विश्व प्रसिद्ध कम्पनी नोकियाले आफ्नो आइकनिक लोगो ६० वर्षपछि परिवर्तन गरेको छ ।यद्यपि सन् १९६६ पछि नोकियाको लोगोमा धेरथोर परिवर्तन हुँदै आएको थियो । तथापि ब्राण्डको लोगो पूर्णरुपमा परिवर्तन भएको यो पहिलोपटक हो ।

स्पेनको बार्सिलोनामा चलिरहेको मोबाइल वल्र्र्ड कंग्रेसका अवसरमा नोकियाले कम्पनीको लोगो परिवर्तनको घोषणा गरेको हो ।कम्पनीको लोगो बदलिएसँगै नोकिया कम्पनी अब मोबाइल व्यवसायका अलावा नेटवर्क व्यवसायमा पनि एकपटक केन्द्रित हुने तयारीमा रहेको संकेत गरेको छ ।

नोकियाको नयाँ लोगो पाँचवटा आकृति मिलाएर बनाइएको छ जसले मिलाएर नोकियालाई जनाउँदछ । नोकियाको लोगो यसअघि निलो रङमा हुने गरेकोमा त्यो पनि परिवर्तन भएको छ ।

स्मरण रहोस् नोकिया कम्पनीले केवल स्मार्टफोन मात्र होइन फाइभ जी उपकरण पनि बनाउँछ । त्यसैले कम्पनीमा अब दुईवटा लोगो देखिनेछ । एउटा लोगो खासगरी मोबाइल फोन सेग्मेन्टका लागि राखिएको छ भने अर्को लोगो कम्पनीका अन्य व्यवसायका लागि तय गरिएको छ ।

नोकिया मोबाइल ब्राण्डको कुरा गर्दा नोकियाको मोबाइल फोन बनाउने लाइसेन्स फिनल्याण्डको एचएमडी ग्लोबल कम्पनीसँग छ । त्यसैले नोकिया कम्पनीले आफ्नो लोगो परिवर्तन गरे पनि एचएमडी ग्लोबलले भने नोकियाको पूरानै लोगो भएका स्मार्टफोन बिक्री गर्ने बताएको छ ।

नोकियाका सीईओका अनुसार नोकिया अब केवल स्मार्टफोन कम्पनी मात्र होइन बिजनेस टेक्नोलोजी कम्पनी बनिसकेको छ ।

प्रतिक्रिया दिनुहोस