राष्ट्रियसभा बैठक : दुई विषयगत समितिको प्रतिवेदन पेस

रासस

सोमबार, १५ फागुन २०७९, १४ : ५६
राष्ट्रियसभा बैठक : दुई विषयगत समितिको प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रियसभामा दुई विषयगत समितिको वार्षिक प्रतिवेदन पेस भएको छ । सभाको सोमबारको बैठकमा समितिका सभापति डा बेदुराम भुसालले ‘विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदन प्रतिवेदन २०७८/०७९’ पेस गर्दै समितिका अधिकांश बैठक विधेयक निर्माणमा केन्द्रित भएको बताए । 

त्यस अवधिमा नौ वटा विधेयकसम्बन्धी प्रतिवेदन पारित भएको, ऐन कार्यान्वयन मापन तथा अध्ययन र अनुसन्धानअन्तर्गत तीन वटा प्रचलित ऐनको कार्यान्वयन मापन गरिएको जानकारी उनले गराए । 

बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दीलकुमारी रावल थापा (पार्वती) ले उक्त समितिको वार्षिक प्रतिवेदन पेस गरिन् । उनले समितिको आर्थिक वर्ष २०७५/७६, २०७६/७७, २०७७/७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कनसम्बन्धी प्रतिवेदन पेस गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक यही फागुन २९ गते सोमबार अपराह्न १ बजे बस्नेछ । 

प्रतिक्रिया दिनुहोस