ट्रम्पको जेरुसेलम निर्णयको विरोध गर्दै संयुक्त राष्ट्र संघ

सोमबार, ०३ पुस २०७४, १२ : ४९
ट्रम्पको जेरुसेलम निर्णयको विरोध गर्दै संयुक्त राष्ट्र संघ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानी बनाउने निर्णय गरेपछि प्यालेस्टाइनी नागरिकले लगातार विरोध जनाइरहेका छन् ।

उनको यस निर्णयपछि गाजा क्षेत्रमा फैलिएको हिंसाको अझै अन्त्य भएको छैन । शुक्रबार पुनः हिंसात्मक गतिविधि बढेपछि १०३ प्यालेस्टाइनका विरोधकर्ता घाइते भएका छन् भने चार जनाको ज्यान गएको बताइएको छ । शुक्रबार र शनिबार गरिएको विरोध प्रदर्शन कार्यक्रममा २५०० प्यालेस्टाइनी नागरिक सहभागी भएको जे पोस्टले जनाएको छ ।  

त्यसकारण गम्भीर बन्दै गइरहेको जेरुसेलम मुद्दाले संयुक्त राष्ट्र संघको ध्यान पनि केन्द्रित गराएको छ । यसप्रति संयुक्त राष्ट्रको सुरक्षा परिषदले ट्रम्पले आफ्नो एकतर्फी निर्णयलाई फिर्ता लिनुपर्ने सुझाव दिएको छ । अर्को साता नै यसबारेमा अमेरिका, फ्रान्स, ब्रिटेन, रुस र चीनले मत पास गर्ने बताइएको छ ।

राष्ट्रपति ट्रम्पले अन्तर्राष्ट्रिय र स्थानीयसँगको सल्लाह सुझाव बिना नै जेरुसेलमलाई इजरायलको राजधानी घोषित गरिदिएपछि चर्किएको विवादले अहिले जेरुसेलम क्षेत्र अत्सव्यस्त बन्न पुगेको छ । त्यहाँ फैलिएको हिंसाले दिनदिनै भयानक रुप लिँदै गइरहेको छ भने उता ट्रम्प र इजरायली प्रधानमन्त्रीे चाहिँ आफ्नो अडानबाट पछि हटेका छैनन् । यति मात्र नभएर राष्ट्रपति ट्रम्पले जेरुसेलममा अमेरिकाको दूतावास सार्ने योजना समेत सार्वजनिक गरिसकेका छन् ।

उनको यस्तो विवादित फैसलापछि अरबका विदेशमन्त्रीहरुले संयुक्त राष्ट्रसंघमा गुनासो गरेका थिए ।

जेरुसेलममा भएको हिंसा यत्तिका दिनमा समेत शान्त नभएपछि आगामी साता हुने मतमा अमेरिका आफ्नो निर्णयलाई जोगाउन एक्लै हुने अनुमान गरिएको छ । किनकी बाँकी सबै राष्ट्रले पनि उनको यस फैसलालाई उचित मानेका छैनन् ।

प्रतिक्रिया दिनुहोस