भरतपुर सरसफाई अभियान

भरतपुर महानगरपालिका प्रमुख रेनु र उपप्रमुख पार्वती फोहोर सफा गर्न एकसाथ सडकमा (फोटो फिचर)

सोमबार, ०३ पुस २०७४, ११ : ३३
भरतपुर महानगरपालिका प्रमुख रेनु र उपप्रमुख पार्वती फोहोर सफा गर्न एकसाथ सडकमा (फोटो फिचर)

चितवन । भरतपुर महानगरपालिकाले सोमबारदेखि महानगर क्षेत्र सरसफाई अभियान सुरु गरेको छ । महानगरको आयोजनामा भरतपुरको गोन्द्राङमा भएको सरसफाई उद्घाटन कार्यक्रमलाई गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई फोहोररहित सुन्दर शहरमा परिवर्तन गरिने बताइन् ।


महानगर प्रमुख दाहालले महानगर क्षेत्रमा संकलन हुने फोहोरलाई वर्गीकरण गरेर त्यसको व्यवस्थापन गरिने बताइन् । उनले फोहोररहित सुन्दर भरतपुरको परिकल्पना साकार पार्न हरेक घरबाट साथ र सहयोगको अपेक्षा गरिन् । घरबाटै कुहिने र नकुहिने फोहोरलाई छुट्याउन सके फोहोरको व्यवस्थापनमा सहयोग पुग्ने उनको भनाइ थियो ।


सरसफाई अभियान सुरु गरेपछि महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती रावलले एकसाथ सडकमा फालिएको फोहोर संकलन गरेर बोरामा राखेका थिए । उनीहरुसँगै भरतपुर महानगरका विभिन्न वडाका अध्यक्ष, कर्मचारी, विभिन्न टोल सुधार समितिका पदाधिकारी एवं सदस्य र सर्वसाधारण सरसफाई कार्यमा सहभागी भएका थिए ।
सरसफाई कार्यक्रममा स्थानीयसँग मिलेर सेना, प्रहरी, सशस्त्र प्रहरी र सामाजिक संघसंस्थाका प्रतिनिधिले सडक छेउको फोहोर टिपेका थिए । महानगरपालिका कार्यालयका कर्मचारी पनि सरसफाईमा सहभागी थिए । बोरामा संकलन गरिएको फोहोर महानगरपालिकाको फोहोर बोक्ने गाडीमा खन्याइएको थियो ।


भरतपुरको गोन्द्राङबाट सुरु भएको सरसफाई कार्यक्रम हाकिमचोक, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक, मेनरोडहुँदै पोखरा बसपार्कमा पुगेर सकिएको थियो । सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै सुरुमा राजमार्ग र आसपासका क्षेत्र त्यसपछि भित्री सडक र नगरवासीको घरदैलोसम्म पु¥याइने महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस