करातेको पहिलो दिन : पुलिसलाई तीन स्वर्ण

सफल खबर संवाददाता

विहीबार, २६ माघ २०७९, २१ : २८
करातेको पहिलो दिन : पुलिसलाई तीन स्वर्ण

ललितपुर । दोस्रो कृष्ण प्रसाद भट्टराई स्मृति कराते प्रतियोगिताको पहिलो दिन बिहीबार विभागिय टोली नेपाल पुलिस क्लबले ३ तथा एपिएफ क्लबले २ स्वर्ण पदक जितेका छन् । ललितपुर सातदोबाटोस्थित कराते एकेडेमीको हलमा बिहीबार सुरु भएको प्रतियोगितामा महिला एकल कातामा पुलिसकी चन्चला दनुवारले स्वर्ण पदक जितिन् भने उनी सम्मलित टोलीले टिम कातामा पनि स्वर्ण पदक जितेको थियो । कुमुतेतर्फ पुलिसकी पुष्पका लामाले ४५ केजी तौल समूहमा स्वर्ण पदक जितिन् ।

पुष्पकाले फाइनलमा त्रिभुवन आर्मी क्लबकी ममता महर्जनलाई ४–१ ले हराइन् । एपिएफकी दीपा लामा र प्रदेश १ की प्रतिममा राईले कास्य पदक जिते । महिला एकल कातामा कर्णालीकी एलिशा रोसिका मगरले रजत तथा बागमतकी मिरा खाती र प्रदेश १ की रोश्मा राईले कास्य पदक जिते । महिला टिम कातामा आर्मीले रजत तथा एपिएफ र बागमतीले रजत पदक जित्यो । त्यस्तै पुरुषतर्फ एपिएफका सोनिम मानन्धरले पुरुष एकल कातामा र उनी सम्मलित टोलीले टिम कातामा स्वर्ण पदक जित्यो । एकल कातामा पुलिसका महसुस मोक्तानले रजत तथा बागमती रेहान जाभेद र आर्मीका विजय लिम्बुले कास्य पदक जिते ।

गोदावारी नगरपालिकाद्धारा आयोजित कृष्ण प्रसाद भट्टराई खेल महोत्सव–२०७९ अन्तर्गत नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरले संचालन गरिरहेको राष्ट्रिय कराते प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा १७ वटा इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । पहिलो हुने प्रत्येक खेलाडीहरुलाई स्वर्ण पदक सहित स्पोर्टस ब्राण्डको गिफ्ट भौचर प्राप्त गर्नेछ र दोश्रो र तेश्रो हुनेहरुले पदक र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट १ महिला र १ पुरुष खेलाडीले नगद पुरस्कार सहित केल्मीको गिफ्ट हाम्पर प्राप्त गर्नेछन् । प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफि सहित १ लाख र दोस्रो हुने टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभाग (सेना,प्रहरी, सशस्त्र) गरि १० टोलीका खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको उद्घाटन पूर्व उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस