कर्णालीका मुख्यमन्त्रीद्वारा कर्मचारीलाई ६१ बुँदे निर्देशन (पूर्णपाठ)

सफल खबर संवाददाता

सोमबार, २३ माघ २०७९, १३ : १२
कर्णालीका मुख्यमन्त्रीद्वारा कर्मचारीलाई ६१ बुँदे निर्देशन (पूर्णपाठ)

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेश सरकारका प्रमुख सचिव र सचिवसहितका कर्मचारीलाई ६१ बुँदे निर्देशन दिएका छन् । माघ १७ गते शर्माले निर्देशनको खाका नै तयार गरेर सार्वजनिक गरेका छन् । 

६१ बुँदे निर्देशनमा सरकारको वर्तमान भौतिक, वित्तीय प्रगति र राजश्वको आम्दानीको अवस्था दयनीय भएकाले लक्ष्य अनुसार प्राप्ति हासिल गर्न चुनौतीको विषय रहेको उल्लेख गरिएको छ । चुनौतीलाई सामना गर्दै सचिवहरूले उल्लेखनीय रूपान्तरण गर्न विशेष प्रतिबद्धता र योगदानको अपेक्षा मुख्यमन्त्री शर्माले गरेका छन् । 

चालु आर्थिक वर्षको ६ महिना बितिसक्दा सरकारको आन्तरिक राजश्व २५ करोड ५ लाख मात्र उठेको छ । यद्यपि चालु आवमा प्रदेश सरकारले ७१ करोड २९ लाख राजश्व उठाउने लक्ष्य लिएको छ ।

‘वित्तीय खर्च १०.७७ प्रतिशत मात्र हुँदा हाम्रो भौतिक प्रगति कति भयो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ ,’ शर्माले भनेका छन्,‘ विकास खर्च हुन नसक्नुका कारण के–के हुन् ? यसको लागि जिम्मेवार को हुने ? यसका कारण खोजी गरी निराकरण अव नगरे कहिले गर्ने ? नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधार प्रस्ताव ल्याउनुहोस् ।’ 

शर्माले कार्यगत तहमा समस्या भए प्रशासनिक निकायले द्रुत गतिमा कार्य सम्पादन गरी प्रश्नहरू नउठ्ने वातावरण मिलाउन निर्देशन दिएका छन् ।यति मात्र होइन मुख्यमन्त्री शर्माले कार्यान्वयनमा देखिने कमजोरी पन्छाएर उम्किन नमिल्ने कडा निर्देशन दिएका छन् । उनले ठुला आयोजनामा विनियोजित भएको बजेट, हालसम्म भएको खर्च र भौतिक प्रगति र विकास आयोजनामा निर्माणको गति तीव्र गर्ने उपायहरू सहितको कार्य योजना तत्काल तयार गरी कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

शर्माले कर्मचारीका कुनै परिमर्का भए सिधै आफूसमक्ष राख्न भनेका छन् । ‘कसैको डर, धाक, दबाब, प्रभाव वा मोलाहिजामा नपरी दिएको जिम्मेवारी इमानदारी, निष्ठा तथा कुशलतापूर्वक निभाउनुहोला,’ शर्माले भनेका छन् ।

शर्माले प्रदे भित्र कर्मचारीतन्त्र जर्जर रहेको टिप्पणी गर्दै आएका छन् । कर्मचारीतन्त्रलाई सुधार गर्नका लागि शर्माले सो निर्देशन दिएका हुन् ।