चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न राष्ट्रपति कार्यालयको आग्रह

सफल खबर संवाददाता

बुधबार, १८ माघ २०७९, १२ : ३२
चलचित्रकर्मीका १० बुँदे माग कार्यान्वयन गर्न राष्ट्रपति कार्यालयको आग्रह

काठमाडौं । राष्ट्रपति कार्यालयले चलचित्र क्षेत्रका १० बुँदे माग कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरेको छ । सोमबार पठाइएको पत्रमा चलचित्र नीतिदेखि फिल्म निर्माणमा बैंकिङ कर्जासम्मका बुँदा छन् । गत माघ ९ गते राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दै चलचित्रकर्मीले विभिन्न माग राखेका थिए ।

उक्त भेटमा आफ्नो ध्यानाकर्षण भएको भन्दै राष्ट्रपति भण्डारीले ती मागहरु सम्बन्धित निकायमा पठाइदिने आश्वासन दिएकी थिइन् । सोहीअनुसार सोमबार राष्ट्रपति कार्यालयले ती माग समेटिएको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पठाएको हो ।

उक्त पत्रमा चलचित्र उद्योगका लागि ३-५% व्याजदरमा बैंकिङ कर्जाको सुविधा उपलब्ध गराइदिने व्यवस्था गर्न अनुरोध गरिएको छ । बिभिन्न देशमा रहेका नेपाली दूतावास तथा कन्सुलेटमार्फत ती देशमा नेपाली चलचित्र महोत्सवको आयोजना गर्न बजेटको व्यस्था गर्न पनि भनिएको छ ।

स्वदेशका पर्यटकिय स्थलमा छायांकन गर्दा चलचित्रमार्फत ती स्थानको प्रवद्र्धन हुने हुँदा यस्ता पर्यटकीय स्थलमा छायांकन गर्दा लाग्ने सम्पूर्ण खर्च संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बेहोर्ने व्यवस्था गर्न समेत आग्रह गरिएको छ । कलाकारको मृत्युपश्चात सदगत गर्नु अघि श्रद्वान्जलीका लागि शव राख्ने प्रयोजनका लागि पशुपति विकास कोषमा एक श्रद्वान्जली गृहको व्यवस्था गर्न समेत भनिएको छ ।

प्रतिक्रिया दिनुहोस