सिएमसी क्यान्सर इन्स्टिच्युट बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आउने

सफल खबर संवाददाता

बुधबार, ११ माघ २०७९, १५ : ५२
सिएमसी क्यान्सर इन्स्टिच्युट बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आउने

चितवन  । चितवन मेडिकल कलेज क्यान्सर इन्स्टिच्युट बिहीबारदेखि औपचारिक रुपमा संचालनमा आउने भएको छ । अस्पतालले आज (बुधबार) पत्रकार सम्मेलन गरि क्यान्सर इन्स्टिच्युटको बिहीबार एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले विहान १० बजे समुद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ । अस्पतालका निर्देशक डा.दयाराम लम्सालले क्यान्सर इन्स्टिच्युटको सबै तयारी पुरा भइसकेको भन्दै एक सय बेड क्षमताको यस अस्पतालले भोलिदेखि औपचारिक उपचार सेवा सुरु गर्ने बताए । ‘सबै आन्तरिक तयारी पुरा भइसकेको छ, हाम्रा विज्ञ टिमहरु उपचारका लागि तयार हुनुहुन्छ, उद्घाटनपछि औपचारिक रुपमा अस्पतालको सेवा सुरु हुन्छ’–निर्देशक लम्सालले भने ।

यस अस्पतालमा क्यान्सर रेडियसन लगायतका केही सेवा भने संचालनमा आइसकेका छन् । सम्पूर्ण क्यान्सरको परीक्षण, निदान र उपचार विश्वसमा क्यान्सरको उपचारको क्षेत्रमा प्रयोग भएको पछिल्लो प्रविधिको माध्यमबाट दक्ष चिकित्सक तथा विज्ञबाट गराइने लम्सालले बताए । क्यान्सर इन्स्टिच्युटमा ब्य्राकिथेरापी, रेडिएसन, केमो थेरापी र शल्यक्रिया सेवा उपलब्ध छन् । त्यस्तै क्यान्सरका ओपीडी सेवा, अन्तरंग सेवा, रेडियोथेरापी, केमो थेरापी, ब्य्राकिथेरापीलगायतका सेवा रहेका छन् । दैनिक एक सय जनासम्मलाई रेडियसन (सेक्ने) सेवा दिन सकिने गरि रेडिएसन लिन्याक एक्सिलेरेटर जडान गरि सकिएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) प्रताप देवकोटाले जानकारी दिए । सो मेसिनमा सिक्स डी काउच र हाइपर आर्क प्रविधि छ । ‘हामीले जतिसक्दो नयाँ प्रविधि भित्र्याएका छौं, यसले स–साना उपचार र पालो पाइएन भन्दै विदेश जान पर्ने झन्झटको अन्त्य भएको छ’–सिइओ देवकोटाले भने ।

क्यान्सर इन्स्टिच्युटमा टाउको भित्रको ट्युमरलाई विना शल्यक्रिया उपचार गर्ने प्रविधि एसआरएस (स्टेरियो टेक्टिक रेडियो सर्जरी) पनि उपलब्ध छ । यसबाट उपचार गर्दा शल्यक्रिया नगरी टाउकोभित्र जुन भागमा ट्युमर छ त्यसलाई मात्रै सेकाएर नष्ट गरिने हुँदा बिरामीलाई सहज मानिन्छ । क्यान्सर पत्ता लागेको ३÷४ दिन भित्र नै रेडियोथेरापीलगायतका उपचार तत्काल सुरु गरिने भएकाले क्यान्सरको उपचार र परीक्षणमा महिनौं लामो पालो कुर्न पर्ने अवस्थाको अन्त्य हुने अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा.लम्सालले भने–‘महिनौं पालो कुर्नुपर्दा क्यान्सर झनै फैलिन सक्ने र त्यसले उपचारमा नै समस्या खडा गर्न सक्ने संभावनालाई कम गराउने सिएमसी क्यान्सर इन्स्टिच्युटले पनि भूमिका खेल्ने विश्वास लिएका छौं ।’

चितवनबाट क्यान्सरको परीक्षणका लागि भारत लैजानुपर्ने नमूनाहरुको जाँचको लागि अस्पताल भित्र नै उच्च प्रविधिसहितको ‘ए’ ग्रेडको ल्याब स्थापना गरि सकिएकाले समय, रकमको खर्चका साथै हैरानी व्यहोर्नुपर्ने अवस्थाको अन्त्य हुने क्यान्सर इन्स्टिच्युटका एचओडी डा.सुबास ठाकुरले बताए । ‘हामीले बिरामीलाई चाडो र उच्च प्रविधिबाट उपचार गराउने छौं, यसले बिरामीलाई आर्थिकदेखि सबै हिसाबले सहज हुनेछ’–डा.ठाकुरले भने ।

चितवनमा देशका विभिन्न भागबाट क्यान्सरका बिरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालले विपन्न बिरामीहरुलाई मध्यनजर गर्दै सरकारले क्यान्सरको उपचारका लागि दिने एक लाख र बागमती प्रदेश सरकारले उपलब्ध गराउने ५० हजार रुपैयाँ बराबरको उपचार सुविधा समेत उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस