सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, १९ : ४६
सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सूचना–प्रविधिको विकासले अपराधहरूको चरित्रमा बहुआयामिक फेरबदल आएको भन्दै बदलिँदो सुरक्षा चुनौतीको सामना गर्न आवश्यक रणनीति बनाउन निर्देशन दिएका छन् ।

सोमबार २२ औं सशस्त्र प्रहरी दिवसलाई सम्बोधन गर्दै उनले बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन सशस्त्र प्रहरीलाई निर्देशन दिएका हुन् ।

‘वर्तमान विश्व परिवेशलाई मूल्याङ्कन गर्दै बदलिँदो सुरक्षा चुनौतीलाई सामना गर्नका लागि आवश्यक रणनीति बनाई सोहीअनुसार परिचालित हुन समेत आग्रह गर्दछु’ उनले भने ।

प्रधानमन्त्री प्रचण्डले सरकारको सुशासन र समृद्धिको दीर्घकालीन लक्ष्यलाई सफल बनाउन आफ्नो क्षेत्रबाट इमान्दार र प्रभावकारी भूमिका निर्वाह गर्न आग्रह गरे ।

उनले मानव अधिकारको पूर्ण पालना र भ्रष्टाचार तथा लैंगिक विभेदमा शून्य सहनशीलताका नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताए ।प्रधानमन्त्री प्रचण्डले सशस्त्र प्रहरी बललाई हातहतियार, गोलीगठ्ठा, आवास एवं बन्दोबस्तीका सामान, विपद व्यवस्थापनका सामान, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरण उपलब्ध गराउन पहल गर्ने पनि बताए ।

‘हातहतियार, गोलीगठ्ठा, आवास एवं लजिस्टिकका सामानहरू, विपद् व्यवस्थापनका सामानहरू, सवारी साधन, भौतिक पूर्वाधार लगायत आवश्यक उपकरणहरू र जनशक्तिको लागि सरकारको तर्फबाट यथासम्भव पहल हुनेसमेत विश्वास दिलाउँछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस