इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने

सफल खबर संवाददाता

सोमबार, ०९ माघ २०७९, ११ : १०
इच्छाकामना गाउँपालिकाले निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने

सिमलढाप । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका भित्र रहेका अत्यन्त निम्न वर्गीय परिवारको घर निर्माण गरिदिने भएको छ । गाउँपालिकाले आफ्नै स्रोत तथा विभिन्न सघसंस्थाहरुसँगको सहयोगमा गाउँपालिका भित्र रहेका आफैले घर निर्माण गर्न नसक्ने अत्यन्त निम्न वर्गीय परिवार पहिचान गरि उनीहरुको घर निर्माण गर्ने तयारी थालेको हो ।

यसका लागि शनिबार गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ र उपाध्यक्ष माया सिलवाल सहितको एक टोली इच्छाकामना गाउँपालिका ७ ढाँडबारीमा पुगी अवलोकन गरेको थियो । उक्त गाउँका निम्न वर्गीय परिवारको घर निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले तत्काल घर निर्माणका लागि सामाग्रीहरु उपलब्ध गराउने उनीहरु समक्ष प्रतिबद्धता गरे । अध्यक्ष गुरुङले घर निर्माणको लागि आवश्यक सामाग्री गाउँपालिकाले उपलब्ध गराईदिने वाचा गर्दै उनीहरुलाई श्रमदान गर्न अनुरोध गरे । ‘गाउँपालिकाले सामान दिन्छ, श्रमदान चाहि तपाईहरुले गर्नुपर्छ’ –उनले भने।

यसैगरी केही घरहरु भने नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत निर्माण गरिने अध्यक्ष गुरुङले बताए । अध्यक्ष गुरुङका अनुसार इच्छाकामना गाउँपालिकाले वडा नं। ७ मा नमुना बस्ती निर्माणको काम गरिरहेको छ । यस आवमा मात्रै नमुना बस्ती निर्माण कार्यक्रम अन्तर्गत गाउँपालिकाले १९ वटा घर निर्माण गर्नेछ ।
 

प्रतिक्रिया दिनुहोस