मतदाता नामावली संकलनकाे काम सुरू

सफल खबर संवाददाता

विहीबार, ०५ माघ २०७९, १४ : १६
मतदाता नामावली संकलनकाे काम सुरू

काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट अनलाइन प्रणालीमा आधारित मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक सुरु गरेको छ । ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन तय भएपछि गत साउन १९ गते स्थगन भएको मतदाता नामावली ‘प्रि–रजिष्ट्रेशन’ र अद्यावधिक प्रक्रिया सोमबारबाट सुरु भएकाे आयोगले जनाएकाे हाे। आयोगले तोकिए बमोजिमको प्रमाण लिई मतदाता नामावलीमा नाम दर्ता गराउन आउने नागरिकको फोटोसहितको मतदाता नामावलीको विवरण मतदाता नामावली ऐन, २०७३ बमोजिम संंकलन गर्दै आएको छ ।

कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, जन्म मिति, नागरिकतासम्बन्धी विवरण, बाबुको नाम, आमाको नाम, पति वा पत्नीको नाम लगायतका विवरणमा रहेको त्रुटी सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा संलग्न प्रमाणको आधारमा निर्वाचन अधिकारीले प्राप्त निवेदनमाथि आवश्यक निर्णय गर्ने भएकाे छ ।

कुनै मतदाताले झुटा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा निर्वाचन अधिकारीले छानबिन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गर्नेछ ।

त्यसैगरी कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा मतदाता नामवली ऐन, २०७३ को दफा ९ बमोजिम आयोगले निवेदन लिई मतदाताले साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा दिन सक्ने व्यवस्था गरेको छ ।