म सभामुख हुने निश्चित छ, निष्पक्ष ढंगले काम गर्छु : देवराज घिमिरे

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १४ : ४५
म सभामुख हुने निश्चित छ, निष्पक्ष ढंगले काम गर्छु : देवराज घिमिरे

काठमाडौं । नेकपा एमालेका सांसद एवं नेकपा एमालेबाट सभामुखका उम्मेदवार देवराज घिमिरेले सभामुखमा आफ्नो जित निश्चित रहेको बताएका छन । बुधबार संसद सचिवालय नयाँ बानेश्वरमा प्रतिनिधि सभाका लागि सभामुखको उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।

उनले विगतमा भएका कमजोरीबाट सिकेर आगामी दिनमा सभामुखको भूमिका निभाउने बताए । उनले आफू निर्वाचित भइसकेपछि सांसदहरुलाई सहमतिका साथ अघि बढाउने बताए । उनले सभामुख कुनै एक दलबाट नभइ सिंगो प्रतिनिधि सभाबाट चुनिएर जाने भएकाले सभामुखले खेल्ने भूमिकामा कमी हुन नदिने गरी कार्य सम्पादन गर्ने बताए।

उनले भने ‘म सभामुख हुने कुरा निश्चित छ । त्यसलाई विगतका अनुभव र शिक्षाबाट सिकेर व्यवस्थित गर्दै अघि बढ्नुपर्छ । यो दलबाट विजयी बनेर होइन, सिंगो प्रतिनिधि सभाबाट विजयी भएर जाने हो । प्रतिनिधि सभाबाट विजयी भएपछि सभामुखले खेल्ने भूमिका के हुन्छ, त्यो भूमिकामा कमी नहुनेगरी भूमिका खेल्छु । नेकपा एमालेले प्रस्ताव गरेको छ । एमाले उपाध्यक्ष सुवास नेम्वाङ प्रस्तावक हुनुहुन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधान एवं उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री राजेन्द्रप्रसाद लिङदेन, नेकपा (माओवादी केन्द्र) का संसदीय दलका सचेतक हीतराज पाण्डेले समर्थन गरेका छन । विगतबाट शिक्षा लिँदै आउँदा दिनमा प्रभावकारी भूमिका निर्वाह गर्नेछु ।’

सत्तारुढ दलहरुको साझा उम्मेदवार रहेका उनलाई एमाले उपाध्यक्ष एवम पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले सभामुख पदका लागि प्रश्ताव गरेका छन भने नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डे, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन ले समर्थन गरेका छन।

प्रतिनिधि सभामा समामुखको निर्वाचन बिहीबार हुँदै छ । एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलो पटक झापा क्षेत्र नम्बर २ का प्रतिनिधि सभामा निर्वाचित भएका थिए । हाल एमाले प्रदेश १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनी २०५६ सालमै राष्ट्रिय सभाको सांसद भएका थिए ।