एमाले र कांग्रेसबाट को-को बन्दैछन् सभामुखको उम्मेदवार ?

सफल खबर संवाददाता

बुधबार, ०४ माघ २०७९, १० : ५८
एमाले र कांग्रेसबाट को-को बन्दैछन् सभामुखको उम्मेदवार ?

काठमाडौं । संघीय संसद् सचिवालयले सभामुख पदको निर्वाचनका लागि बुधबार उम्मेदवारी दर्ताको कार्यक्रम सार्वजनिक गरेको छ । निर्वाचन कार्यक्रमअनुसार बुधबार १ देखि ४ बजेसम्म दलहरूले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुपर्नेछ । 

नयाँबानेश्वरस्थित संसद् भवनको लोत्से हलमा प्रतिनिधिसभा नियमावली २०७५ को नियम ७ (२) बमोजिम दलले कुनै सांसदलाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्तावको सूचना दर्ता गराउनुपर्ने कार्यतालिका छ । प्रस्तावक र समर्थकसहित उम्मेदवारको प्रस्ताव दर्ता भएपछि ४ः१५ बजे संसद् सचिवालयले सबै उम्मेदवारको दर्ता क्रमानुसार सूची प्रकाशित गर्ने कार्यक्रम छ । 

सातदलीय सत्तागठबन्धनको भागबन्डामा सभामुख पाएको एमालेले झापा २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवराज घिमिरेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सभामुखमा एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्मा पनि आकांक्षी थिए । कांग्रेसले भने अहिलेसम्म उम्मेदवारी दिने कि नदिने भन्ने निर्णय गरेको छैन ।

सभामुखको निर्वाचनका विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बोलाइएको छ । बैठकले पार्टीकै उम्मेदवार बनाउने कि एकीकृत समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । कांग्रेसमा विमलेन्द्र निधि र अर्जुननरसिंह केसी सभामुखको उम्मेदवारका आकांक्षी छन् ।

बिहीबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उम्मेदवारको प्रस्तावकले सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नुपर्नेछ । त्यसपछि उम्मेदवारीको सूचनामाथि सामूहिक छलफल हुनेछ । छलफलपछि ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले दर्ता क्रमानुसार प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन् ।  

एउटा मात्रै मनोनयन परेमा निर्विरोध तथा दुई वा दुईभन्दा बढी उम्मेदवारबीच प्रतिस्पर्धा हुने अवस्थामा हरेक सदस्यको मतविभाजनबाट निर्णय लिइन्छ पक्ष, विपक्ष र तटस्थ गरी तीनवटा विकल्प दिएर छुट्टाछुट्टै लबीमा सांसदहरूले दस्तखत गरेर आफ्नो मत राख्छन् ।

सभामुखको निर्वाचन सकिएपछि प्रतिनिधिसभाले उपसभामुखको निर्वाचन मिति तोक्छ । बिहीबार सभामुख निर्वाचित गरेर सोही दिन शनिबारलाई उपसभामुखको निर्वाचन मिति तोक्ने तयारी प्रतिनिधिसभाको छ ।