अर्थमन्त्री पौडेल र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, ०३ माघ २०७९, २० : ०३
अर्थमन्त्री पौडेल र गैरआवासीय नेपाली संघका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए०का अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलसँग मंगलबार भेटवार्ता गरेको छ । सो क्रममा लामो समयदेखि आफूहरुले उठाउँदै आएका माग सम्बोधनका लागि आग्रह गरिएको स‌घले जनाएको छ । 

सो अवसरमा  गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष रबिना थापाले संघले गर्दै आएका लोक कल्याणकारी तथा परोपकारी कार्य, नेपालमा गैरआवासीय नेपालीहरुको लगानी लगायतका विषयमा अर्थमन्त्री पौडेललाई जानकारी गराइन् । विदेशमा रहेका लाखौं नेपालीहरु नेपालमा लगानीका लागि उत्साहित भएपनि विभिन्न कानूनी र नीतिगत कठिनाईका कारण समस्या परेकोले त्यस्ता कठिनाई हटाउन कार्यकारी अध्यक्ष थापाले संघको तर्फबाट अर्थमन्त्री पौडेललाई आग्रह गरिन् । अध्यक्ष थापाले विदेशमा रहेका नेपालीलाई बिना कुनै उल्झन नेपालमा लगानी गर्न पाउने वातावरण निर्माण गर्न अर्थमन्त्री समक्ष अनुरोध गरिन् ।

यस्तै, संघका अध्यक्ष डा। बद्री केसीले गैरआवासीय नेपालीहरुको लगानी अभिवृद्धि गर्न नेपाली नागरिक सरह लगानीको व्यवस्था गर्नुपर्नेमा जोड दिए।  अध्यक्ष केसीले नेपाल सरकारको सहितको लगानी भएको करीब १० अर्ब बराबरको एन।आर।एन नेपाल डेभलपमेण्ट फण्ड  कम्पनी कार्यान्वयनमा ल्याउन देखा परेका कानूनी बाधा व्यवधानलाई हटाउन अर्थमन्त्री समक्ष आग्रह गरे ।   यस्तै, वैदेशिक रोजगारीबाट आउने विप्रेषणलाई वैधानिक च्यानलमार्फत ल्याउन प्रोत्साहन गर्न २ प्रतिशतसम्म प्रिमियम नेपाल सरकारले उपलब्ध गराउने व्यवस्था गर्न समेत अध्यक्ष केसीले आग्रह गरे।  

यस्तै अर्का अध्यक्ष कुल आचार्यले  गैरआवासीय नेपाली नागरिकताको विषयलाई तत्काल टुंगो लगाउन आग्रह गरे। अध्यक्ष आचार्यले डलर खाता सञ्चालनमा देखा परेका प्राविधिक समस्या समाधान गर्न, ‘एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड’लाई अघि बढाउन देखा परेका कानूनी र व्यवहारिक कठिनाई समाधानका लागि अन्तरमन्त्रालयगत समन्वय गरेर समस्या सम्बोधन गरिदिन संघका तर्फबाट अर्थमन्त्री समक्ष आग्रह गरे ।

जवाफमा अर्थमन्त्री पौडेलले गैरआवासीय नेपाली संघका प्रतिनिधिसहितको एउटा छुट्टै संयन्त्र बनाएर यथाशक्य छिटो समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।  

गैरआवासीय नेपालीले नेपालमा गरिरहेको लगानीप्रति नेपाल सरकार जानकार रहेको भन्दै आगामी दिनमा पनि लगानीका लागि मार्ग प्रशस्त गर्न आफू प्रतिबद्ध रहेको अर्थमन्त्री पौडेलले  बताए । 

प्रतिक्रिया दिनुहोस