राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल

सफल खबर संवाददाता

शनिबार, ३० पुस २०७९, १६ : ०२
राष्ट्रिय सहमतिको प्रधानमन्त्रीको रुपमा अनुभूति गरेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको ४४ औँ प्रधानमन्त्रीको रुपमा प्रतिनिधिसभामा आफूलाई असाधारण विश्वास प्राप्त भएको बताएका छन् । गोरखाका कम्युनिष्ट नेता भुवनप्रसाद श्रेष्ठको जीवन दस्तावेज कम्युनिष्ट आन्दोलनका प्रेरक ‘भुवन दाइ’ पुस्तक विमोचन गर्दै मुलुकको प्रधानमन्त्रीको रुपमा आफूले पाएको विश्वासलाई गौरव र चुनौती दुवैरुपमा लिएको बताए ।

‘यसपटक म प्रधानमन्त्री त भएँ । तर विश्वासको मत लिँदा यस्तो असाधारण परिस्थिति बन्यो कि मैले संसद्मा असाधारण विश्वास पाएको छु,’ प्रधानमन्त्री दाहालले भने, ‘मैले त राष्ट्रिय सहमतिको सरकारको प्रधानमन्त्रीको रुपमा आफूलाई अनुभूति गरेको छु । यसलाई थप जिम्मेवारी, गौरव र चुनौतीपूर्ण अवसरको रुपमा बुझेको छु ।’

सो पुस्तकमा श्रेष्ठले प्रधानमन्त्री दाहालले शिक्षकको रुपमा गोरखामा बिताएको समयको संस्मरणसमेत समेटेका छन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले ४६ वर्षपछि आफू गोरखाको जनप्रतिनिधिको रुपमा प्रधानमन्त्री बनेको बताए ।

‘अहिले म ४६ वर्षपछि गोरखाकै जनप्रतिनिधिको रुपमा निर्वाचित भएर देशको प्रधानमन्त्री बनेको छु । अब यहाँको बुढीगण्डकी जलविद्युत्‌देखि बेनीघाट–आरुघाट सडकको कुरा होस् या अरु विकासको कुरा होस् । यी कुराहरूमा मेरो विशेष ध्यान छ । मैले यहाँको जनप्रतिनिधि नहुँदा पनि यी विषयमा मेरो ध्यान थियो, अब त झन् हुन्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस