‘बजेट पहल र निर्माण सम्पन्न गर्ने भरतपुर महानगर, जस लिने गृहमन्त्री रवि लामिछाने ?’

सफल खबर संवाददाता

शुक्रबार, २९ पुस २०७९, ०९ : ५५
‘बजेट पहल र निर्माण सम्पन्न गर्ने भरतपुर महानगर, जस लिने गृहमन्त्री रवि लामिछाने ?’

चितवन । नेपाल स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन २ बाट प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएसंगै उनको चर्चा देशव्यापी नै चुलियो । त्यसमा पनि चितवनबाट निर्वाचित भएकाले उनी माथि चितवनबासीको ध्यान त्यसैपनि केन्द्रित नै हुने भयो ।

  अहिले उनी नयाँ सरकार गठन भएयता सत्तासिन हुँदै उपप्रधानमन्त्री एवं गृहमन्त्री भएपछि अरुले गरेको कामको जस लिन अगाडी सरेको भन्दै आलोचना हुने क्रम पनि बढेको छ । भरतपुर महानगरको दोश्रो कार्यकालको मेयरमा पुनः रेनु दाहाल निर्वाचित भएपछि उनले विगत देखि नै अगाडी सारेका विकास निर्माणका कामहरु केही सम्पन्न भएका छन् भने केही सम्पन्न हुने क्रममा छन् । 

तर अहिले ति सबै कामको जस मन्त्री रवि लामिछानेले आफ्नो पोल्टामा पार्न खोजेपछि महानगरभित्रै तिब्र रोष प्रकट हुन थालेको छ । लामिछानेले स्टन्टबाजी गरेको भन्दै सामाजिक संचालका भित्ताहरु पोतिन थालेका छन् । मन्त्री भएपछि पहिलो पटक बिहिबार चितवन आएका  लामिछाने भरतपुर विमानस्थलबाट धर्मचोक  पुगि सम्बोधन गदैगर्दा शहिदचोक–धर्मचोक–यज्ञपुरी चोकसम्मको सडक कालोपत्रे भएकोमा स्थानियले गृहमन्त्रीले बधाई दिए । सो क्रममा गृहमन्त्री लामिछानेले भन्दै थिए, ‘धुलै धुलो भरिएको यो ठाउँमा उभिएर सार्वजनिक सुनवाई गरेका थियौँ, आज फर्केर आउँदा चिल्लो राम्रो सडक भएको देखेँ, मलाई एकदमै खुशी लाग्यो ।’

रविकै कारण सडक निर्माणले गती पाएकै हो त भन्ने प्रश्नहरु पनि उठिरहेका छन् । स्थानीय सरकार भरतपुर महानगरले बजेट ल्याउनदेखि बनाउनका लागि पटक पटक गरेका पहलहरु ओझेलमा परेपछि केहीले सामाजिक सञ्जालमा तितो पोखेका छन् । भरतपुर महानगरका इञ्जिनियर साकार लामाले कागजपत्र र तस्विरहरु राख्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘जस लिन होडबाजी गर्नै पर्दैन, बजेट पहल गर्ने रेनु दाहाल, काम गर्ने कार्यालय, निर्माण व्यवसायीलाई समन्वय र निर्देशन गर्ने रेनु दाहाल र निर्माण सम्पन्न गराउन पनि दुख गर्ने पनि रेनु दाहाल नै हो ।’

Renu-Dahal-75-11-9

सामाजिक सञ्जालमा रवि लामिछानेले जस लिन गरेको होडबाजीको आलोचना हुन थालेका छन् । वाइसिएल नेपालका केन्द्रीय कोषाध्यक्ष सन्तोष पनेरुले गृहमन्त्री लामिछानेलाई व्यंग्य गर्दै लेखेका छन्, ‘मित्रहरु काम गर्ने कालू, मकै खाने भालु कथाहरुमा सुहाउँछ, यथार्थमा होइन ।’ युवा नेता सुसन चितवने पनि लेख्छन्, ‘जनताको प्रत्यक्ष नियमित जीवनसँग जोडिएको कुरामा स्टण्डको राजनीति बन्द गर्न अनुरोध गर्दछु ।’

माओवादीकै विद्यार्थी नेता अशोक देवकोटा सामाजिक सञ्जालमा लेख्छन्, ‘रवि लामिछानेले रेनु दाहालसँग प्रतिस्पर्धा होइन, सहकार्य गर्दा राम्रो हुन्छ ।’ सामाजिक सञ्जालमा रवि पक्षधरले ५ वर्षसम्म नबनेको बाटो निर्देशनपछि बनेको भनेर प्रचार गरिरहेका छन् । माओवादी पक्षधरले भने मेयर रेनुको योगदानलाई मेट्न खोजेको टिप्पणी गरिरहेका छन् ।

विकास–निर्माण हुनु राम्रै हो । तर, जस लिने होडबाजी भने रोचक देखिएको छ । सडक निर्माणको कथा भने बेग्लै छ । सघन शहरी तथा भवन निर्माण आयोजना भरतपुर मार्फत रमण शिवशक्ति जेभीले २०७५ असार २६ गते सडक निर्माण गर्ने जिम्मा पाएको थियो । शहिदचोकहुदै वैकुण्ठचोक–धर्मचोक–यज्ञपुरीचोक जोड्ने ३ दशमलव २ किमि सडकखण्ड कालोपत्रे गर्ने काम पुरै ठप्प भने थिएन । २ वर्षमा निर्माण सक्ने भनिएपनि कोभिड–१९ लगायतका अनेक बहानामा काममा ढिलाई भएको थियो । यही चैत भित्रै निर्माण पुरा गर्नुपर्ने गरि म्याद थपिएको थियो । निर्माण व्यवसायीले ५ खण्डमा निर्माण कार्य जारी राखेका थिए । तर, स्थानीय सन्तुष्ट थिएनन् । भत्काइएको सडकको धुलोले दिनरात सताएको थियो । सांसदमा निर्वार्चित भएलगत्तै बाटो छिटो निर्माण गर्न ठेकेदार पक्षलाई सडकमै बोलाएर लामिछानेले निर्देशन दिएकै थिए । जतिबेला ५ सय ५० मिटर बाटो मात्रै कालोपत्रे गर्न बाँकी थियो ।

निर्माण व्यवसायीले सांसदको निर्देशन पालना गरेको देखाउन २ ट्रिपर गिटी झारे, तर काम अगाडी बढेन । मंसिर १० गते निर्देशन दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने काठ्माण्डौ गए । १५ दिनसम्म कुनै काम भएन । मेयर रेनु दाहालले १५ दिनपछि मंसिर २५ गते आयोजना प्रमुख, निर्माण व्यवसायीलाई महानगरमै बोलाएर निर्देशन दिइन् । निर्माण व्यवसायीका तर्फबाट प्रोजेक्ट म्यानेजर रञ्जन ठाकुर सहभागि थिए ।

मेयरकै अध्यक्षतामा बसेको बैठकले ५ वटा निर्णय ग¥यो । निर्माणाधिन धर्मचोक–बैकुण्ठचोक– सडकखण्डको बाँकी ५ सय ५० मिटर सडक पुस ३ गतेबाट बेश कोर्श फाइनल गरि पुस १३ गतेभित्र अस्फाल्ट कार्य पुरा गर्ने तथा शहिदचोक–धर्मचोक–कचपचे सडकको निर्माण सम्पन्न गर्न बाँकी रहेका फिनिसिङका काम छिटै पुरा गर्ने लगायतका निर्णयमा हस्ताक्षर गर्ने काम भए ।

मेयर रेनु दाहाल, उपमेयर चित्रसेन अधिकारी, आयोजना प्रमुख प्रकाश अर्याल, इञ्जिनियर साकार लामा, सब–इञ्जिनियर लक्ष्मण श्रेष्ठ, प्राजेक्ट म्यानेजर रञ्जन ठाकुरले हस्ताक्षर गरेका थिए । रवि सडकमै उत्रिएपछि बल्ल महानगर गयो भन्ने प्रश्न उठ्न सक्छ । भदौमा महानगरमा बसेको बैठकले असोजमै सो सडक निर्माण कार्य पुरा गर्न ताकेता गरेको थियो । तर, काममा ढिलाई भएपछि फेरी महानगरका मेयर दाहालले चुनाव अगावै बाटो कालोपत्रे गर्न पटक–पटक निर्देशन दिएकी थिइन् ।

विगत ५, ६ वर्ष यता भरतपुर महानगर भित्र तिव्र विकास भएको स्थानियबासीको भनाई छ । माओवादी अध्यक्ष प्रचण्ड जिल्लाबाट निर्वाचित भएपछि उनकै पहलमा ठुला ठुला योजनाहरु भरतपुर भित्रिए । ति सबै प्रायः आयोजनाहरु भरतपुर महानगरको अगुवाईमा संचालित छन् । त्यसमध्ये कतिपय सम्पन्न भईसकेका छन् भने कतिपय सम्पन्न हुने क्रममा छन् । ति सबै विकास निर्माणका योजनाहरुको मेयर रेनु दाहालको प्रत्यक्ष निगरानीमा निर्माणाधिन छन् । काम अवरोध भए उनी आफैं स्यवं पुगि चासो प्रकट गर्ने गरेका छन् । तर अहिले ति सबै कामको जस लिन रवि लामिछाने अगाडी बढेको भन्दै महानगरभित्रका कतिपय बुद्धिजिवीहरुले यसलाई रविको स्टन्टको रुपमा रहेको टिप्पणी गर्न थालेका छन् । 

 

प्रतिक्रिया दिनुहोस