एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

आइतबार, ०२ पुस २०७४, १५ : ३५
एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपाललाई

नेपालले एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । फाइनल खेलमा सिंगापुरलाई ७१ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको सिंगापुरले ३१.५ ओभरमा अलआउट हुँदै ११२ रनमात्रै बनाउन सक्यो । सिंगापुरका लागि साइ हर्ष भेनुगोपालले ३१, आर्नभ वाध्वाले २१ र राओल शर्माले १५ रन बनाउन बाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सूर्य तामाङ र अजय कुमार लोनियाले समान ३–३ विकेट लिए ।

बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेटको क्षतिमा नेपालले १८३ रन बनाएको थियो । तर नेपालको सुरुवताी भने राम्रो हुन सकेन । नेपालको ३ रन हुँदा कुशल मल्ल शुन्य रनमा आउट भएका थिए । त्यस्तै, २१ रन हुँदा नेपालको दुई विकेट झरेको थियो ।

४० रन हुँदा तेस्रो विकेट गुमाएको नेपालका लागि विशाल विक्रम केसी र नारायण जोशीले राम्रो प्रदर्शन गर्दै उकासेका थिए । विशालले ६३ रनको योगदान दिए । उनले ४ चौका र एक छक्का प्रहार गरेका थिए । त्यस्तै, नारायणले नटआउट ४६ रन बनाए । उनले ५ चौका र एक छक्का प्रहार गरे । नेपालका लागि सुवास अऐरले २२, तृत राज दासले १९ र सुनिल भण्डारीले १५ रनको योगदान दिएका थिए । प्रतिश जिसीले नटआउट १० रन बनाए ।

सिंगापुरका लागि इशान सवनीले २ विकेट लिए । उपाधि उचालेको नेपालले प्रतियोगिताको कुनै पनि खेलमा हार ब्यहोर्नु परेन ।

नेपालले खेलको ५ वटै खेलमा जित हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस