मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव

सफल खबर संवाददाता

मंगलबार, १९ पुस २०७९, १५ : ३८
मन्त्रालयको संख्या घटाएर मितव्ययी सरकार बनाउन अध्यक्ष तिमिल्सिनाको सुझाव

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल बिस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गरेका छन । मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो बताए।

उनले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको संख्या नै बढाउने काम गर्नु नहुनेमा जोड दिए । उनले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ जनताका समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताए । सरकारले २० जनासम्मको मन्त्री मण्डल बिस्तार गर्न आवश्यक रहेको बताए । उनले ठूलो मन्त्रीमण्डल बनाउँदा राज्यको खर्च बढी हुने र विकास निर्माणका कामले पनि गति लिन नसक्ने बताए । उनले देशको अर्थतन्त्र नाजुक अवस्थामा रहको भन्दै अर्थतन्त्रको सुधारका लागि सबै किसिमबाट मितव्ययी बन्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले वर्षौैं देखिका ठेक्का लागेका योजनाहरु अलपत्र रहेका भन्दै सरकारले त्यसमा चासो दिनुपर्ने बताए । उनले जनमुखी काम गर्नका लागि कानूनी समस्याहरु भए संसदमा ल्याएर त्यसको निचोड दिनुपर्ने बताए। उनले विकास निर्माणको काम कानूनी झन्झटका कारण सुचारु हुन नसकेका भए आवश्यक कानून बनाउनुपर्नेमा जोड दिए । उनले सरकारी सेवा प्रवाहमा जनतालाई ढिलासुूती गर्ने काम हुन नहुने पनि बताए । उनले भ्रष्टाचार नियन्त्रण गरी जनचाहना अनुसारका काम कारबाहीलाई अघि बढाउने कुरामा सांसदहरुले सोच्नुपर्ने बताए । उनले विकास निर्माणको काममा २४ घण्टा नै काम गरेर आयोजना सक्ने गरी लाग्नुपर्ने बताए ।

अध्यक्ष तिमिल्सिनाले प्रदेशमा पनि मन्त्रालयको संख्या बढाउँदा आलोचना खेप्नु परिरहेको भन्दै कम मन्त्रालय बनाउन सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस