लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन हुँदै

सफल खबर संवाददाता

शनिबार, ०९ पुस २०७९, १० : १९
लुम्बिनीमा मुख्यमन्त्री सम्मेलन हुँदै

दाङ । पाँच वर्षे कार्यकाल पूरा गरेका सातवटै प्रदेशका मुख्यमन्त्रीहरूको सम्मेलन लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा हुने भएको छ। यही पुस १५ गते लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा मुख्यमन्त्रीहरूको सम्मेलन हुन थालेको हो।

सरकारबाट बिदा हुनै लागेका मुख्यमन्त्रीहरूले सरकारका कामको समीक्षा र अब बन्ने सरकारलाई सुझाव दिन सम्मेलन आयोजना गर्न थालिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको निमन्त्रणामा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, मधेसका लालबाबु राउत, बागमतीका राजेन्द्रप्रसाद पाण्डे, गण्डकीका कृष्णचन्द्र नेपाली, कर्णालीका जीवनबहादुर शाही र सुदूरपश्चिमका सरकार प्रमुख त्रिलोचन भट्ट सम्मेलनमा सहभागी हुन देउखुरी आउने कार्यक्रम छ।

सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले तयारीसमेत अगाडि बढाएको छ। प्रदेशको स्थायी राजधानी देउखुरीको भ्रमण गराएर यही मुख्यमन्त्रीहरूको सम्मेलन गर्न लागिएको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तिलकराम शर्माले बताए। ‘१४ गते मुख्यमन्त्रीहरू आउने कार्यक्रम छ। १५ गते सम्मेलन हुन्छ’, उनले भने, ‘प्रदेश सरकारको पाँच वर्षे कार्यकालको समीक्षा हुन्छ। संघ सरकारसँग भएका मुद्दाका बारेमा पनि छलफल हुनेछ।’

लुम्बिनीमा आउने मुख्यमन्त्रीहरूलाई यहाँको स्थायी राजधानीको बारेमा समेत लुम्बिनी प्रदेश सरकारले ब्रिफिङ गर्नेछ। २०७७ असोज २० गते प्रदेशसभाको बैठकले देउखुरीलाई लुम्बिनी प्रदेशको स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो।

त्यसको करिब दुई वर्ष दुई महिनापछि स्थायी राजधानी कार्यान्वयनमा आएको छ। मुख्यमन्त्री कार्यालयले देउखुरीबाट यही मंसिर २८ गतेबाट काम गर्न सुरु गरिसकेको छ। अन्य मन्त्रालयहरू अब छिट्टै नै सार्ने तयारी थालिएको छ। यसका लागि देउखुरीमा मन्त्रालयका भवनहरूको टुंगो लगाउने काम पनि अन्तिम चरणमा पुगेको छ।

गत मंसिर ४ गते भएको संसदीय निर्वाचनबाट संघ र प्रदेशमा नयाँ जनप्रतिनिधि चुनिएर आइसकेका छन्। दुवै तहमा नयाँ सरकार गठन गर्ने तयारी भइरहेको छ।

यो अवस्थामा गत ५ वर्षे कार्यकालमा प्रदेश सरकारहरूको समीक्षा र आगामी नयाँ सरकारलाई सुझाव दिन पनि सम्मेलन आयोजना गर्न खोजिएको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिलामन्त्री शर्माले जानकारी दिए।