नेपाली महिला टोली आज बंगलादेशको सामना गर्दै

आइतबार, ०२ पुस २०७४, १२ : ०७
नेपाली महिला टोली आज बंगलादेशको सामना गर्दै

चितवन । साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । फाइनल चरण पुग्ने लक्ष्यसहित बंगलादेश गएको नेपाली टोलीले घरेलु टोलीसँग अपरान्ह प्रतिस्पर्धा गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मोस्ताफा कमल स्टेडियममा नेपाली समयअनुसार दिउँसो २ : १५ मा सुरु हुनेछ । त्यसअघि उद्घाटन खेल भारत र भुटानबीच हुनेछ ।

च्याम्पियनसिपको लागि नेपाली महिला टोली शुक्रबार नै बंगलादेश पुगिसकेको छ । नेपालले च्याम्पियनसिपमा उपाधि जित्ने लक्ष्य लिएको छ । शनिबार भएको प्रिम्याच कफ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गंगा गुरुङले नेपाली टोली बलियो भएकोले फाइनल पुग्ने लक्ष्य रहेको बताइन् ।

यस्तै नेपाली टोलीका कप्तान प्रिती राईले टोलीमा सबै खेलाडीबीच राम्रो समन्वय रहेको र एकअर्काको खेल्ने तरिकालाई बुझेका कारण प्रतियोगितामा जित हात पार्न सहज हुने दाबी गरिन् ।

च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्रको सहभागिता रहेको छ । च्याम्पियनसिपमा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटान रहेका छन् । राउण्ड रोबिन लिगका आधारमा हुने च्याम्पियनसिपको शिर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ । फाइनल खेल पुस ९ गते हुनेछ ।

च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले मंगलबार भारतसँग खेल्नेछ । त्यस्तै नेपाले अन्तिम खेलमा भुटानसँग शुक्रबार प्रतिस्पर्धा गर्नेछ ।
 
नेपाली टोली
करिना दाहाल
वितिषा राजवंशी
पुष्पा गुरुङ
सरिश्मा थापा
मनमाया बिक
सुष्मा राई
सुरक्षा सिंह
सरस्वती हमाल
प्रिति राई
अस्मिता चौधरी
मुना मगर
निकिता थोकर
सबिता राना मगर
सुष्मा जिटी
अन्जली चन्द
अस्मिता रनपाल
निखिता धमला
सुप्रिया रजक
रिया बानु
अस्मिता गुरुङ
झरना नगरकोटी
मुख्य प्रशिक्षक – गंगा गुरुङ
प्रशिक्षक – पारस चौधरी
गोलकिपर प्रशिक्षक – विनोद महर्जन

प्रतिक्रिया दिनुहोस