माओवादी प्रदेश–१ को दल नेतामा चापागाईंको दाबी

सफल खबर संवाददाता

शुक्रबार, ०८ पुस २०७९, १४ : १९
माओवादी प्रदेश–१ को दल नेतामा चापागाईंको दाबी

काठमाण्डौं । माओवादी केन्द्रले ११ पुसमा प्रदेश–१ संसदीय दलको नेता चयन गर्ने भएको छ ।दल नेताका लागि दुई पोलिट्ब्युरो सदस्यहरु दुर्गाप्रसाद चापागाईं र इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् । 

चापागाईं तेह्रथुमको प्रदेशसभा (ख) र आङबो पाँचथर प्रदेशसभा (ख) बाट निर्वाचित भएका हुन् । प्रदेश–१ मा माओवादीका १३ सदस्य छन् । तीमध्ये ९ प्रत्यक्ष र ४ समानुपातिक पद्धतितर्फबाट निर्वाचित भएका थिए । 

माओवादी पोलिट्ब्युरो सदस्य एवं प्रदेश–१ का पूर्वइन्चार्ज हिमाल राई (सुरेश) ले दल नेतामा चापागाईं र आङबोको दाबी रहेको बताए । आङबो हाल प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री छन् । एमालेसँगको एकताअघि र नेकपा विभाजनपछि पनि आङबो माओवादी दल नेता थिए । नेता राईले आलोपालो नेतृत्व गर्नुपर्छ भन्ने तर्कसहित चापागाईंले यसपटक दल नेतामा दाबी गरेको उल्लेख गरे ।

 ‘दल नेतामा दुई जनाको दाबी छ’, राईले भने, ‘इन्द्रजीले पाँच वर्ष दलको नेतृत्व गर्नुभयो, दुईपटक आर्थिक मामिलामन्त्री पनि हुनुभयो, अब म नेतृत्व गर्छु भन्ने चापागाईंजीको दाबी पनि अस्वभाविक होइन ।’ दुवै युवा नेता योग्य र पार्टीको समान जिम्मेवारीमा रहेको  भन्दै उनले प्रदेशसभा सदस्यहरुले विवेकपूर्ण निर्णय लिने उल्लेख गरे । प्रदेशसभा र सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्न आफूले नेतृत्वमा दाबी गरेको चापागाईंले बताए । ‘आङबोजीले पाँच वर्ष नेतृत्व गरिसक्नुभयो, अब म गर्छु भनेको छु’, चापागाईंले भने, ‘प्रदेशसभा सदस्य साथीहरु र पार्टी नेतृत्वलाई पनि कामको स्पष्ट योजनासहित दाबी प्रस्तुत गरेको छु ।’ आङबोलाई बिहीबार काठमाण्डौंमा भेटेर आफूले यसपटक दल नेताका लागि सघाउन आग्रह गरेको र सकारात्मक जवाफ पाएको चापागाईंले बताए । उनले सर्वसम्मतिमै दल नेता छानिने जानकारी दिए । संघीय संसदमा पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत भएकाले प्रदेशमा पनि सर्वसम्मत नेता चयन हुने उनको भनाइ थियो । 
 

प्रतिक्रिया दिनुहोस